बुटवल, २४ बैसाख ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खांणले रुपन्देहीमा गठबन्धनदलका उम्मेदबार बिजयी नजिक पुगेको बताएका छन् ।

उनले अन्य पार्टी परिवर्तन गरेर गठबन्धनमा होमिनेहरु दैनिक रुपमा बढ्दै गएको र घरदैलोमा पुग्दा मतदाता गठबन्धनप्रति उत्साहित भएको पाइएको बताए ।

शनिबार बुटवलमा आयोजित गठबन्धनको चुनावी सभालाइ सम्बोधन गर्दै उनले अब आफुहरुको जितलाई कसैले रोक्न नसक्ने दाबि गरे ।
रुपन्देहीको तिलोत्तमा नगरका मेयरका दाबेदार रहेका उनले तिलोत्तमालाई भ्रष्टाचार मुक्त तिलोत्तमा बनाउने प्रतिबद्धता जनाए ।

तिलोत्तमा प्रशस्त सम्भावना बोकेको नगरपालिका भएकोले पनि शुद्ध मन र प्रष्ट विचारसहित काम गरेमा नगरपालिका मात्र नभई नगरवासी पनि उत्कृष्ट हुने उनको भनाई थियो । उनले यसअघि नगरमा एमाले नेतृत्वले नीतिगत भ्रष्टाचार गरेको भन्दै अब कांग्रेसले जितेपछि नगरलाइ सुशासनमा नम्बर वान बनाउने र बेरुजु शुन्य बनाउने काम आफूहरुको नेतृत्वले गर्ने बताए ।

खाँणले नगरमा सुशासन,स्वास्थ्य,सरसफाइ,शिक्षा,सामाजिक सुरक्षा,भौतिक पुर्वाधार ,कृषि लगायतका जनताका एजेन्डा अगाडी सारिएको बताए ।

यसैबीच रुपन्देहीको तिलोत्तमामा ७१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एमाले लगायतका पार्टी परित्याग गरि उनीहरुले नेपाली कांग्रेस प्रवेश गरेका हन् ।

तिलोत्तमा वडा न ३ मा एक कार्यक्रममा बिच उनीहरु नेपाली कांग्रेस प्रवेश गरेको जिल्ला सदस्य कमला अधिकारीले जानकारी दिइन् ।
नेपाली कांग्रेस तिलोत्तमा ३ ले शनिवार बिहान आयोजना गरेको उम्मेदवारहरुसंगको छलफल तथा पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमामा कांग्रेसका मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले पार्टीमा स्वागत गरे ।

सो अवसरमा बोल्दै नेता खांणले युवा जोस जाँगरले नेपाली कांग्रेसले बिजयी हासिल गर्ने दाबि गरे । उनले देशभर नै कांग्रेसमा जनमत देखिएकोले जित पक्का भएको उल्लेख गरे ।

युवापुस्ताहरुको रोजाईको पार्टी कांग्रेस भएको बताउँदै उनले नव प्रवेसीहरुलाई पार्टीमा पुरानै कार्यकर्ता सरहको ब्यहार र समान अवसर प्रदान गरिने बताए । उनले स्थानीय तह निर्वाचनमा गठवन्धनका उम्मेदवारहरुलाई विजयी वनाउन आग्रह गरे ।

अब राजनीतिक दलहरू देशमा रहेको गरिबी नियन्त्रणमा लाग्नुपर्ने बताउदै उनले नेपालमा धेरै जनता गरिबीको रेखामुनि रहेकोले नेपालका राजनीतिक दलहरूले यो मुद्दामा काम गर्नुपर्ने बताए ।

अब राजा फर्काउने लगायतका अन्य मुद्दाहरूको कुनै काम नभएको तर्क गर्दै उहांले भन्नुभयो–‘हामीले राणा फाल्यौँ, पञ्चायत फाल्यौँ, राजसंस्था फाल्यौ, अब राजाका मुद्दा बोकेर केही फाइदा छैन्, जनताका आवश्यकताका मुद्दा बोक्नुपर्छ, यो काम कांग्रेसले मात्रै गर्छ, म मेयरको उम्मेदवार हुँदा पनि यो मुद्दालाई नै बोकेर अगाडि बढेको छु ।’

२०७४ सालको निर्वाचन पछि एमाले नेतृत्वको सरकार तीनै तहमा बनेपनि कुनै काम हुन नसकेको बताउँदै उनले अब कांग्रेसलाई पहिलो पार्टी बनाउन आग्रह गरे ।

नेपाली कांग्रेस तिलोत्तमा ३ का सभापति केशरी पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता तथा पूर्व वडाअध्यक्ष उदय बहादुर गुरुङ, नेपाली कांग्रेस तिलोत्तमा ३ का सचिव दिनेश सुबेदी लगायतले सबै एकजुट भएर गठवन्धनका उम्मेदवारहरुलाई विजयी वनाउनु पर्नेमा जोड दिए ।