काठमाण्डाै,११ असोज ।
प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आफन्तको जिम्मा लगाएको छ । गएराति महाराजगञ्जमा रहेको निवासबाट जबरालाई पक्राउ गरेको प्रहरीले आज आफन्तको जिम्मा लगाएर पठाएको हो ।
प्रहरीले सुरक्षित ठाउँमा पठाएको बताए पनि कहाँ पठाएको भन्ने खुलाएको छैन । प्रहरीले जबरालाई पक्राउ पुर्जीविनै मध्यराति टेकुमा रहेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याएको थियो ।
प्रहरीले पक्राउ गरेको नभई सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याएको बताए पनि कसबाट कस्तो जोखिम रहेको भन्ने खुलाएको छैन । जबराविरुद्ध कुनै आपराधिक अनुसन्धान वा मुद्दा अघि बढाइएको छ कि छैन भन्ने पनि स्पष्ट छैन । कारण नदेखाइ पूर्वप्रधानन्यायधीश जबरालाई पक्राउ गरेपछि आज व्यापक आलोचना भएको छ ।
यस्तै बिहान मानव अधिकार आयोगको टोली जबरालाई भेट्न नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुमा पुगेको थियो । कार्यालयकाे गेटमा ४५ मिनेट बसेको आयोगको टोली जबरालाई भेट्न नपाएछि नभेटि फर्किएको छ ।






