बुटवल,२२ बैशाख
राजनिति र उद्योग व्यवसाय बुझेका व्यक्ति बुटवलको नगरप्रमुखका उम्मेदवार बनेका भन्दै बुटवलका उद्योगी व्यवसायी उत्साहित बनेका छन्।
आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले औषधी व्यवसायी समेत रहेका बाबुराम भट्टराईलाई नगरप्रमुख र राजनिति तथा अधिकारको क्षेत्रमा काम गर्दै आएकी सावित्रा अर्याललाई नगर उपप्रमुखको उम्मेदवार बनाएको छ।
सोहि क्रममा उद्योगी व्यवसायीहरुले बुधवार बुटवलमा भेला आयोजना गरि उद्योग व्यवसायको प्रवद्र्धनको लागि बाबुराम भट्टराई नेतृत्वका उम्मेदवारलाई विजयी बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन्।
चारदशक अगाडीदेखि औषधी व्यवसायमा संलग्न बाबुराम भट्टराई बुटवलका व्यवसायीहरुका प्रेरणा भएकोले बुटवलको नगरप्रमुखमा विजयी बनाउन उनिहरुले उद्योगी व्यवसायीसँगै युवाहरुलाई पनि आग्रह गरे।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्ब अर्थमन्त्री बिष्णु पौडेलले बुटवलको बिकासको नेताशक्ति नेकपा एमाले मात्रै भएकोले एमालेको विजयलाई कसैले छेक्न नसक्ने बताए।
नेता पौडेलले नेकपा एमालेले बुटवलमा जित्न थालेपछि मात्रै बुटवलको बिकासको सुरुवात भएको र एमालेबाटै विकासका काम सम्पन्न गरिने दावी गरे। नेता पौडेलले निर्वाचन नजिकैदै गर्दा विपक्षीहरुले अनेक खालमा भ्रम फैलाउँने प्रयास गरेपनि बुटवलवाशी त्यस्ता भ्रमको पछाडी नलाग्ने विस्वास ब्यक्त गरे ।
बुटवल राजमार्गदेखि चौराहदेखि चिडिया खोलासम्मको सडक एमालेको कारणले बनेन भनेर विपक्षीहरुले भ्रम फैलाउने गरेपनि बुटवलवाशी त्यसको पछाडी नलाग्ने बताए।
समयमा सडक निर्माण हुन नदिन विभिन्न षडयन्त्र गरेपनि यसअघिको सरकारको प्रयासले ति षडयन्त्र र अवरोध छिचोल्दै ढिलो भएपनि सडक निर्माणको काम अगाडी बढेको र सडक निर्माण पुरा हुँदा बुटवलको मुहार फेरिने नेता पौडेलले बताए।
नेता पौडेलले बुटवलमा संचालित ठुला आयोजनाहरु निरन्तर अगाडी बढीरहेको र साना आयोजनाहरु सम्पन्न हुने अबस्थामा पुगेकोले सबै आयोजना सम्पन्न हुँदा अबको केहि वर्षमै बुटवल विकासको रोलमोडल बन्ने बताए। नेता पौडेलले बुटवलको बिकास र समृद्धिको लागि नेकपा एमालेका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट नगरप्रमुखका उम्मेदवार बाबुराम भट्टराईले नगरप्रमुखको रुपमा उपमहानगरपालिकाभित्र प्रवेश गरेपछि उद्योगी व्यवसायीको मात्र होईन बुटवलवाशीकै शिर ननिहुरिने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘नगरप्रमुख जितेर मलाई परिवारको लागि कमाउनुपर्ने केहि छैन, बुटवलमा ठिकैको बसाई छ, छोराछोरी व्यवसाय सम्हाल्ने भएका छन्, मेरो अबको जिवन बुटवलवाशीकै सेवामा समर्पित गर्न चाहन्छु।’ उनले भने।
भट्टराईले उद्योग व्यवसाय नबुझेको व्यक्तिबाट उद्योगीहरुको समस्या समाधान हुन नसक्ने र उद्योग व्यवसायबाट नै समृद्ध बुटवलको सपना साकार पार्न सकिने भएकोले आफुलाई मतदान गर्न आग्रह गरे।
उपप्रमुखका उम्मेदवार सावित्रा अर्यालले उद्योग व्यवसायमैत्री र सुशासनयुक्त बुटवल बनाउने आफुहरुको अभियानमा साथ दिन आग्रह गरिन्। लामो समयदेखि बुटवलमा रहेर महिला तथा अप्ठ्यारोमा परेका नागरिकको पक्षमा आफुले गर्दै आएको योगदानको फल बुटवलवाशीले दिनेमा आफु विश्वस्त रहेको बताईन्।
कार्यक्रम बाबुराम बोहोराको अध्यक्षता तथा माधव खनालको संचालनमा सम्पन्न भएको थियो।






