बुटवल,२१ बैशाख ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब टोप अस्लामीले भ्रष्टाचारलाई संस्थागत गर्नेहरुले अहिले आएर सुशासनको नारा दिएर मत माग्नु दिउसै रात पार्नु सरह भएको टिप्पणी गरेका छन् ।

बुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कोटीहवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महासचिब अस्लामीले सत्तामा हुँदा जसले भ्रष्टाचारलाई संस्थागत गरे उनिहरुलेनै सुशासनको नारा दिएर मत माग्नु दिउसै रात पार्नु सरह भएको टिप्पणी गरेका हुन् ।
जनमुक्ति पार्टीले स्थापना कालदेखि भ्रष्टाचार बिरुद्धको आवाज उठाएको स्मरण गर्दै उनले भ्रष्टाचार अहिले आएर मात्रै सबै दलको एजेण्डा बनेको दाबी गरे ।
बिगतमा अरु देशलाई सहयोग गर्ने मुलुक अहिले अन्य देशसँग माग्नुपर्ने अवस्थामा पुगेको भन्दै महासचिब अस्लामीले देशलाई यो अवस्थामा कसले पुर्यायो भन्ने बिषयमा युवाहरुले सोच्नुपर्ने बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीबाट तिलोत्तमा नगरपालिकाको मेयरका उम्मेदवार सुन्दर गुरुङले तिलोत्तमावासीको जिवनस्तर माथि उठाउने एजेण्डा सहित जनमुक्ती पार्टी चुनावी अभियानमा लागेको भन्दै तिलोत्तमाको शासन ब्यवस्था परिवर्तन र समृद्धिका लागि तिलोत्तमावासीहरु पनि परिवर्तन हुनपर्नेमा जोड दिए ।
आफुहरुसँग तिलोत्तमाको समग्र विकास र समृद्धिको योजना रहेको भन्दै उनले समृद्धिको सपना साकार पार्न यस पटक तिलोत्तमामा जनमुक्ति पार्टीका उम्मेदवारलाई मत दिन अपिल गरे ।
पार्टीका तिलोत्तमा नगर बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर बलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सचिब समेत रहेकी उपमेयरकी उम्मेदवार गिता सारु,रुपन्देही इन्चार्ज चित्रप्रसाद गुरुङ लगायतले आ आफ्नो भनाई राखेका थिए ।






