बुटवल,१५ बैशाख ।
बुटवलमा क्रियाशिल विभिन्न ५ वटा व्यवसायी संस्थाहरुले बुटवलको व्यस्त वजार क्षेत्र बुटवल उपमहानगरपालिका वडा नं. ६ विपीचोकस्थित गुल्मी मजुवा नवदिप सुनचादी पसलमा सोमवार राति भएको चोरीको घटनाको सुक्ष्म रुपमा छानविन गरि दोषिलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

विहिवार बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही व्यापार संघ, बुटवल सुनचादी व्यवसायी संघ, रुपन्देही सुनचादी व्यवसायी संघ र नेपाल घरवहाल सरोकार संघ, रुपन्देहीले संयुक्त विज्ञप्ति जारी गरी बुटवलको अति व्यस्त वजार क्षेत्र अन्तरगत पर्ने विपी चोकमा भएको चोरीको घटनाले बुटवल क्षेत्रमा शान्ति सुरक्षाको अवस्था निकै कमजोर रहेको कुरालाई प्रष्ट पारेको उल्लेख गरिएको छ ।

वजार क्षेत्रमा हुने यसप्रकारका चोरीका घटनाले व्यवसायीहरुलाई त्रसित मात्र नभएर असुरक्षाको महसुस गराएको बताउदै विज्ञप्तिमा शान्ति सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीसहितका प्रशासनिक निकायलाई व्यवयासीहरुमाथि पटकपटक हुने आक्रमण एवं बढ्दो चोरीका घटनाहरुप्रति गम्भिर बन्न र व्यवसायीक सुरक्षाको प्रवन्ध मिलाउन आग्रह गरिएको छ ।

चोरीको घटनाको सुक्ष्म रुपमा छानविन गरि दोषिलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै उनिहरुले आगामी दिनमा आपराधिक गतिविधिहरु बढ्न सक्ने र व्यवसाय सञ्चालनमा अवरोध खडा गर्ने तत्वहरु सक्रिय रहनसक्ने प्रति प्रहरी प्रशासन चनाखो बनि शान्ति सुरक्षाको प्रवन्ध मिलाउन भनिएको छ ।
सो पसलबाट सोमवार राति करिव ५ करोड मुल्य बरावरको सुनचादीको गहना चोरी भएको थियो ।