बुटवल, १४ बैशाख ।
नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले गत बैशाख १२ गते राती बुटवल ६ बिपिचौकस्थित कोटेश्वर मजुवा गुल्मेली सुनचाँदी पसलमा भएको चोरीको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।
संघका अध्यक्ष राजुप्रसाद लिगल र महासचिव कृष्ण बहादुर खनालले आज एक प्रेस विज्ञप्ति जारी गरी संघका सक्रिय सदस्य नन्दलाल सेन्चुरीको सुनचाँदी पसलमा भएको करोडौं रकमको सुन चाँदी र नगद चोरी भएको घटना प्रति दुःख ब्यक्त गर्दै चोरीमा संलग्नलाई तत्काल पक्राउ गरि कडा भन्दा कडा कारबाही गर्न र शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन माग गरेको हो ।
बुटवल बजारको भौगोलिक अवस्था, निर्वाचनको समय र सुरक्षा निकायको ध्यान निर्वाचनतर्फ केन्द्रीत भएको मौका पारी सो घटना घटेको भन्दै विज्ञप्तिमा यस समयमा थप घटना हुनसक्ने सम्भावनालाई मध्येनजर गरी थप सतर्कता अपनाउन स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गराइएको छ ।






