बुटवल,१४ बैशाख ।
भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि बिहीवार नेपाल एअरलाइन्सले परीक्षण उडान गर्ने भएको छ ।
नेपाल एअरलाइन्सको एअरबस ए–३३० वाइडबडी जहाज भोलि दिउँसो ३ बजे काठमाण्डौबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका लागि उड्ने विमानस्थल कार्यालयले जनाएको छ ।
गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरू, पत्रकारलगायत २६० जना यात्रु रहने छन् ।
जहाज भैरहवा पुगेको दुई घण्टापछि फेरि काठमाण्डौ फर्कनेछ । दुई घण्टाको बीचमा विमानस्थलको प्रस्थान हलमा औपचारिक कार्यक्रम हुने पनि दाहालले जानकारी दिए । काठमाण्डौबाट पुगेका यात्रुलाई अन्तर्राष्ट्रिय विमानस्थलको नियमअनुसार नै सबै जाँच र सुरक्षाका प्रक्रिया पूरा गराइने महाप्रबन्धक दाहालले बताए ।
गौतमबुद्ध विमानस्थलमा गएको वैशाख १ गते नै नेपाल एअरलाइन्सको जहाजले परीक्षण उडान गर्ने तालिका रहे पनि विविध कारणले गर्दा ढिलाइ भएको थियो । विमानस्थलबाट आउँदो जेठको १५ गतेदेखि नियमित व्यावसायिक उडान हुने जनाइएको छ । अहिलेसम्म कुवेतको जजिरा एअरले मात्रै व्यावसायिक उडानको तालिका प्राप्त गरेको छ ।






