बुटवल,१० बैशाख ।
विदेशबाट फर्केका १५ सय युवालाई स्वदेशमै स्वरोजगारको अवसर प्रदान गरिने भएको छ ।

मधेस र लुम्बिनी प्रदेशका विदेशबाट फर्किएका युवाहरुलाई सीपमूलक तालीम दिएर स्वरोजगार र उद्यमी बनाइने भएको हो ।

शुक्रबार शिक्षा पत्रकार समूह द्वारा बुटवलमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा यसबारे जानकारी गराइएको हो । कार्यक्रममा शिक्षा, विज्ञान युवा तथा खेलकूद मन्त्रालयका सचिव कृष्णप्रसाद पन्थले युवालाई स्वदेशमै स्वरोजगार बनाउने कार्यक्रम प्रशंसनीय रहेको बताए ।
प्रदेशका निकायहरुसँग समन्वय गरे कार्यक्रम कार्यान्वन गर्न सहज हुने उनको भनाइ थियो । कार्यान्वयन र अनुगमनको चरणमा पनि मन्त्रालयले सहयोग गर्ने उनले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा यूएनडीपीले ब्रिटिश काउन्सीलद्वारा व्यवस्थित दक्षता परियोजनाको सहयोग र यूरोपियन युनियनको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

सिटिइभिटीका निर्देशक दिपक प्रसाद पौडेलले युवाहरुलाइए सीपयुक्त तालीम प्रदान गर्दा सबै क्षेत्रलाई समेट्न आवश्यक रहेको बताए । १५ सयलाई दिने सीपयुक्त तालिम हेरेर सिटिइभिटीले पाठ्यक्रम बनाउन तयार रहेको उनको भनाइ थियो ।

रिटर्नि माइग्रेट नेपालका उपाध्यक्ष सीता बस्यालले रिटनि माइग्रेटले नवलपरासीमा चिस्यान केन्द्र, प्रदेश स्तरीय एग्रो मार्ट सातै प्रदेशमा बनाउने काम भइरहेको जानकारी गराइन ।

यूएनडीपीका राष्ट्रिय कार्यक्रम प्रबन्धक डा.मुकुन्दमणि खनालले ५ लाख ७२ हजार नेपाली कामदार कोभिडका कारण नेपाल फर्किएका भन्दै उनीहरुलाई सीप र तालीम प्रदान गर्न सके स्वदेशमै स्वरोजगार र उद्यमी बनाउन सकिने बताए ।

उनलेे विदेशमा सिकेको सीपलाई केही मात्रामा भएपनि उपयोग गर्न सके देशमा उत्पादन बढाउन सकिने भन्दै फर्निचर, डकर्मी, कूक, बाख्रापालन, वेटर, च्याउ र तरकारी खेती क्षेत्रमा कामदारको माग बढी रहेको जानकारी गराए ।
कार्यक्रमले सिपको मापन गरी पाठ्यक्रम बनाई रोजगारीका अवसर सुनिश्चित गर्ने उनको भनाइ थियो । कृषि, निर्माण र पर्यटनलाई प्राथामिकतामा राखेर तालिमका प्याकेज बनाइएको उनको भनाइ थियो ।

कोभिडको कारण रोजगार गुमाएकाहरुलाई रोजगारमा जोड्ने कार्यक्रमको लक्ष्य रहेको उनले बताए । उनका अनुसार रोजगारी गुमाएका, १८ वर्ष पूरा भएको, मधेश र लुम्बिनी प्रदेशमा यो कार्यक्रम लागू हुनेछ । अहिले तथ्याङक संकलन भइरहेको र हालसम्म लुम्बिनीमा ५ सय र मधेशमा ३ सय जनाको तथ्याङ्क संकलन भइसकेको उनले जानकारी दिए ।
कार्यक्रममा शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले शिक्षासँगै शिप जोडिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे, शिक्षा पत्रकार समूहका महासचिव रोशन गाउँले,शिक्षा पत्रकार समूह लुम्बिनीका अध्यक्ष मनाेज पाैडेल लगायतले आ आफ्नो भनाइ राखेका थिए ।