भैरहवा,८ बैशाख । भैरहवा स्थित गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्गमा आजबाट उडान र अवतरण सुरु भएको छ ।
निर्माण सम्पन्न भई अन्तर्राष्ट्रिय उडान भर्ने तयारीमा रहेको विमानस्थलमा आज बिहान ७ बजेर १५ मिनेटमा यती एयरले पहिलो उडान भरेर नयाँ धावनमार्ग प्रयोगमा ल्याइएको हो ।

नयाँ धावनमार्गमा आज बिहान ७ बजेर ४५ मिनेटमा बुद्ध एयरले पहिलो अवतरण गरेकाे विमानस्थल कार्यालयले जनाएको छ ।
१५ सय मिटर लामो धावनमार्गबाट आन्तरिक उडान गर्दै आएको विमानस्थलले अब नवनिर्मित धावनमार्गबाट आन्तरिक उडान गर्ने छ । सन् १९५८ जुलाई ८ तारिखबाट संचालनमा आएको गौतमबुद्ध विमानस्थलले ६४ वर्षको अन्तरालमा नयाँ धावनमार्गबाट उडान सुरु गरेको हो ।

एरोनटीकल इर्न्फमेसन रेगुलेसन एन्ड कन्ट्रोल (एयरर्‍याक) मा निर्माण सम्पन्न भएको विमानस्थलको ३ किलोमिटरको धावनमार्गसहित हवाइ रुट, नेभिगेसन र एयरपोर्टको जानकारी र सुविधा पठाएर अद्यावधिक भएपछि ककपिटमा नयाँ रनवे देखिएको छ । अब सबै उडान र अवतरण पुरानो रनवेमा नभएर नयाँ रनवेमा हुने गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दहालले जानकारी दिए ।
पुरानो रनवेलाई टयाक्सी वे मा परिणत गरिएको महाप्रबन्धक दाहालले बताए ।

आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनी बुद्ध, यती, श्री, सौर्य, गुण लगायतले उडान_अवतरण नयाँ धावनमार्गबाट गर्ने भएका छन् । भैरहवा विमानस्थलमा दैनिक १५ देखि २८ वटा आन्तरिक उडान हुँदै आएको छ ।

नेपालकै दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्धजयन्तीकाे अवसर पारेर जेठ २ गतेबाट अन्तर्राष्ट्रिय उडानको उद्‌घाटन हुदैछ ।

विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरणले, ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले, फ्लाइट क्याटरिङको सेवा सोल्टी क्राउनले र कार्गो व्यवस्थापनको काम नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्ने गरी तयारी रहेको महाप्रबन्धक दहालले बताए ।

अन्तर्राष्ट्रिय उडानको तयारीअनुरूप विमानस्थल कार्यालयले भन्सार विभाग, अध्यागमन विभाग तथा सुरक्षा निकाय लगायतसँगको छलफलपछि जेठ २ गते अन्तर्राष्ट्रिय उडान भर्ने तयारीअनुसार १५ दिन पहिल्यै उडान सेवा दिन तयारी अवस्थामा रहन पत्र काटिसकिएको उनले बताए ।
विमानस्थलको ग्राउन्ड ह्यान्डलिङका लागि नेपाल एयरलाइन्सले जहाजबाट ओर्लन प्रयोग हुने भर्‍याङ,लगेज क्यारिअरजस्ता साधन विमानस्थलमा आइसकेको छ ।