पाल्पा,५ बैशाख ।
पाल्पाको तानसेन स्थित युनाइटेड मिशन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको स्वास्थ्य सेवा पुनः सुचारु भएको जनाएको छ ।

अस्पतालका निर्देशक डा.रचेल कारखले आज एक प्रेस विज्ञप्ति जारी गरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको स्वास्थ्य सेवा सुचारु भएको जानकारी गराएको हो ।

स्वास्थ्य बीमा बोर्डले उपचार बापतको २ करोड ७५ लाख ७४ हजार रुपयाँ उपलब्ध गराएको र आगामि दिनमा हरेक महिना भुक्तानी गर्ने सहमति भएकोले अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको स्वास्थ्य सेवा सुचारु भएको विज्ञप्तिमा जनाइएको छ ।

अस्पतालले गत चैत १८ गते एक सूचना जारी गरी स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अस्पतालले पाउनुपर्ने करोडौं रुपयाँ स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराउँदा अस्पतालको दैनिक प्रशासन सञ्चालनमा समेत समस्या परेको कारण जनाउदै रकम उपलब्ध नगराउदासम्मका लागि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको स्वास्थ्य सेवा उपलब्ध नगराउने जनाएको थियो ।

एकाएक स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको स्वास्थ्य सेवा बन्द भएपछि अस्पताल प्रशासन र स्वास्थ्य बीमा बोर्डको आलोचना हुनुका साथै सो सेवा सुचारु गर्न चौतर्फी दबाब परेको थियो ।