बुटवल,२ बैशाख ।
नेपाली नयां वर्षको अवसरमा बुटवलको पर्यटकीय स्थल हिलपार्कमा सांगीतिक माहोलसहित खाना महोत्सव सम्पन्न भएको छ ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजनामा तेस्रो बुटवल कला संस्कृति तथा खाना महोत्सव भएको हो ।
महोत्सवको उद्घाटन गदै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हिलपार्क,फूलबारी,नरैनापुर,जितगढी लगायतका पर्यटकीय स्थलहरुका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने विश्वास ब्यक्त गरे ।
उनले यस क्षेत्रका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार गरी आन्तरिक पर्यटक भित्रयाउने गरी नगरपालिकाकाले काम गरिरहेको बताए ।
कार्यक्रममा पर्यटन कार्यालय भैरहवाका प्रमुख मुक्ति पाण्डेले पर्यटन प्रर्वन गर्न प्रदेश सरकारले पर्यटन व्यवसायीलाई क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिरहेको जानकारी गराए ।
होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष रामप्रसाद गौतमकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक बाबुराम गौतम,महासचिव माधव खनाल, सांस्कृतिक कार्यक्रम संयाजक मोदनाथ बेल्बासे लगायतले आ आफ्नो भनाइ राखेका थिए । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले गीत र नृत्य मार्फत सहभागीलाई मनोरञ्जन दिलाएका थिए ।






