बुटवल,२९ चैत ।
नयाँ बर्ष २०७९ सालकाे पहिलो दिन बैशाख १ गते बुटवलमा तेस्रो बुटवल कला,संस्कृति तथा खाना महाेत्सव हुने भएको छ ।

राष्ट्रकाे आर्थिक मेरूदण्डकाे रूपमा रहेको पर्यटन क्षेत्रकाे प्रवर्द्धन र विकास गर्ने उदेश्यले हाेटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रूपन्देहीले कला,संस्कृति तथा खाना महाेत्सव गर्न लागेको हो ।

`नेपाली कला संस्कृति तथा जातिगत परिकारहरूकाे प्रचारप्रसार हाम्रो सान,शहर देखि गाउँ सम्मको पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियानभन्ने नाराका साथ महाेत्सव आयोजना गरिएको संघका अध्यक्ष रामप्रसाद गाैतमले जानकारी दिए ।

हाेटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रूपन्देहीले आज बुटवलमा पत्रकार सम्मेलनकाे आयोजना गरि कार्यक्रमकाे तयारी बारे जानकारी गराएको हो ।

दुई पटक सम्म बुटवल सडक खाना महाेत्सव सम्पन्न गरेको संघले यस बर्ष पनि सडक खाना महाेत्सव आयोजना गर्ने योजना भए पनि बुटवलका सडक पुनःनिर्माणकाे क्रममा रहेका कारण हिलपार्कमा महाेत्सव गर्न लागिएको अध्यक्ष गाैतमले बताए ।
महोत्सवमा यस क्षेत्रमा होटल तथा रेष्टुरेन्ट व्यवसायमा प्रदान गरिएका सेवा सुविधा, अतिथि सत्कारका साथै विभिन्न जातजाती मगर, नेवार समुदायका सांस्कृतिक परिकारका स्वाद चखाईने होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका महासचिव माधवकुमार खनालले जानकारी दिए ।
त्यस्तै महाेत्सवमा नेपाली कला संस्कृतिसंग सम्बन्धित सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने जनाइएको छ ।
बिहान १० देखि साँझ ९ बजेसम्म सञ्चालन गरिने खाना महोत्सवमा १२ वटा स्टल समावेश गरिने महासचिव खनालले बताए ।
ती स्टललाई निःशुल्क व्यवस्था मिलाईएको छ भने हिलपार्कमा प्रवेश समेत निःशुल्क गरिएको उनले बताए ।

संघले पहिलो पटक २०७५ र दोस्रो पटक २०७६ बुटवलमा सडक खाना महोत्सव गरेको थियो । त्यसयता भने कोरोना भाईरस संक्रमणको जाेखिमका कारण खाना महोत्सव गर्न नसकिएको अध्यक्ष गौतमले बताए ।
कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय सामान्य रुपमा फर्किन नसकेको र बाह्य पर्यटकमा मात्रै भरपर्ने हो भने पर्यटन व्यवसाय धारासायी हुने भएकाले आन्तरिक पर्यटन पर्वद्धनको लागि खाना महोत्सव आयोजना गरिएको महासचिव खनालकाे भनाइ छ ।