बुटवल,२९ चैत ।
लुम्बिनी प्रदेशकी कानुन,महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले सराेकारवालाहरूसँग छलफल गरेर घरबहाल सम्बन्धि ऐन ल्याउने बताएकी छन् ।
घरबहाल सराेकार संघ रूपन्देहीको ११ औं बार्षिक साधारणसभा तथा पाँचौं अधिबेशनकाे उद्घाटन गर्दै मन्त्री घर्तीले सराेकारवालाहरूसँग छलफल गरेर मात्रै घरबहाल सम्बन्धि ऐन ल्याउने बताएकी हुन् ।
ऐन कानुन बनाएर मात्रै समस्या समाधान नहुने भन्दै उनलेे बनेका कानुनहरू कार्यान्वयन हुनुपर्ने बिचार ब्यक्त गरिन् ।
घरबहाल सम्बन्धि समस्याको बिषयमा आफू जानकार रहेको भन्दै मन्त्री घर्तीले समस्या समाधानका लागि सबै पक्षसँग बसेर छलफल गर्न मन्त्रालय तयार रहेको बताइन् ।
नेपाल घरबहाल सराेकार महासंघका केन्द्रीय अध्यक्ष बलभद्र खनालले सराेकारवाला निकायकाे बेवास्ताका कारण घरबहाल सम्बन्धि समस्या बिकराल बन्दै गएको भन्दै घरबहाल क्षेत्र हेर्ने छुट्टै निकायकाे आवश्यकता रहेको बताए ।
राजश्वकाे ठूलो हिस्सा ओगट्ने घरबहाल सम्बन्धि स्पष्ट कानुन नहुदा घर भाडामा बस्ने ब्यवसायीहरू दाेहाेराे करको मारमा परेको भन्दै उनलेे घरबहाल सम्बन्धि समस्या समाधानका लागि तत्काल कानुन ल्याउनुपर्नेमा जाेड दिए ।
महासंघका संस्थापक निवर्तमान अध्यक्ष शंकर काेइरालाले काेभिड-१९ का कारण समस्यामा परेका ब्यवसायीहरू घरधनीहरूकाे अनियन्त्रित भाडा बृद्विले थप पिडामा परेको भन्दै बैज्ञानिक रूपमा भाडा बृद्वि गर्ने ब्यवस्था गर्न माग गरे ।
विश्वभर फैलिएको काेभिड-१९ काे महामारीका कारण संकटमा परेका ब्यवसायीहरूलाई राहत स्वरूप कम्तीमा दुई बर्ष घर भाडा बृद्वि नगर्न महासंघले घरधनीहरूलाई आग्रह गरे पनि ९५ प्रतिशत घरधनीले भाडा बृद्वि गरेको भन्दै उनलेे अनियन्त्रित भाडा बृद्विले ब्यवसायीहरू थप मर्कामा परेको गुनासो गरे ।
घरबहाल सराेकार संघ रूपन्देहीका अध्यक्ष खगेन्द्र पाैडेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका महासचिव बिमलराज भट्टराई,उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी,रूपन्देही नागरिक समाजका सल्लाहकार इश्वरीप्रसाद चापागाईं, घरबहाल सराेकार संघ रूपन्देहीका बरिस्ठ उपाध्यक्ष राजु लिगल,उपाध्यक्ष टुकलाल न्याैपाने लगायतले आ आफ्नो भनाइ राखेका थिए ।
साे अवसरमा महासंघका अध्यक्ष खनालले मन्त्री घर्तीलाई घरबहाल सम्बन्धि समस्या समाधानका लागि ८ बुँदे मागपत्र पेस गरेका थिए ।
अधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।






