बुटवल,२७ चैत । नेपाल घरबहाल सरोकार संघ रुपन्देहीको ११ औं साधारण सभा तथा ५ औं अधिबेशन आगामी चैत २९ गते हुने भएको छ ।
संघले आज बुटवलमा पत्रकार सम्मेलनकाे आयोजना गरि अधिवेशनकाे तयारी बारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा नेपाल घरबहाल सराेकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष शंकर काेइरालाले स्थानीय सरकारले चासो नदिदा घरबहाल सम्बन्धि समस्या थप जटिल बन्दै गएको बताए ।
विश्व ब्यापी महामारीको रूपमा फैलिएको काेभिड १९ का कारण समस्यामा परेका ब्यवसायीहरू घरधनीहरूकाे मनाेमानी घरभाडा बृद्विले थप समस्यामा परेको भन्दै उनलेे अनियन्त्रित भाडा बृद्विकै कारण कतिपय ब्यवसायीले आत्महत्या गर्ने अवस्थामा पुगेको दाबी गरे ।
संघका जिल्ला अध्यक्ष खगेन्द्र प्रसाद पाैडेलले घर बहाल सम्बन्धि समस्याको बिषयमा घर बहाल सराेकार संघको मात्रै चासो नभएर राज्य र पत्रकारहरूकाे समेत चासो हुनुपर्ने भन्दै स्थानीय सरकारले चासो नदिदा घर बहाल सम्बन्धि समस्या समाधान हुन नसकेको बताए ।
कार्यक्रममा महासंघका प्रदेश संयाेजक समेत रहेका राजु लिगलले काेभिड १९ का कारण केही समय सुस्ताएजस्ताे देखिए पनि संघले घर बहाल सम्बन्धि समस्यामा परेकाहरूकाे समस्या समाधान गर्ने कार्यलाई निरन्तरता दिएको जानकारी गराए ।
अधिवेशनकै क्रममा संघले रक्तदान,अपांग आश्रममा फलफूल बितरण लगायतका कार्यक्रम सम्पन्न गरिसकेको अध्यक्ष पाैडेलले जानकारी दिए ।






