बुटवल,२६ चैत ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले कृषि उत्पादनमा बृद्वि गर्ने र उत्पादन लागत घटाउनु मुलुककाे मुख्य चुनाैती भएको बताएका छन् ।
कृषि उत्पादन बृद्वि गर्नुका साथै उत्पादन लागत कम गर्ने उदेश्यले प्रदेश सरकारले कृषकलाई उत्पादनकाे आधारमा अनुदान दिने नीति लिएको भन्दै मन्त्री शर्माले साना किसानले सहजरूपमा बैंकको ऋण प्राप्त गर्ने वातावरण बनाउन सकेमात्र पनि उत्पादनमा बृद्वि हुने बिचार ब्यक्त गरे ।
नेपाल घरेलु तथा साना उद्याेग महासंघ बाँकेकाे आयाेजना तथा रुपन्देहीकाे समन्वयमा शनिबार बुटवलमा आयाेजित `विकासका लागि सूचना तथा सञ्चार प्रविधि परीक्षण´तथा `कृषि पथ माेबाइल एप´सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बाेल्दै मन्त्री शर्माले कृषि उत्पादनमा लागत घटाउन सकिएन भने आयात अझै बढ्दै जाने बताए ।

उनलेे तीनै तहका सरकारले कृषिमा लगानी गरेपनि त्यसकाे प्रतिफल पाउन नसकेकाे बताउदै कृषिमा प्रविधिको प्रयोग गरेर उत्पादन लागत घटाउन सकिने उल्लेख गरे ।
कार्यक्रममा कृषिकाे बारेमा जानकारीमुलक ‘कृषि पथ’ एप्लिकेसनकाे बारेमा जानकारी गराईएकाे थियो ।
केयर नेपालकाे सहयाेगमा घरेलु तथा साना उद्याेग महासंघ बाकेले उक्त एप्लिकेशन सञ्चालनमा ल्याएकाे र त्यसमा हालसम्म ११ सय कृषक जाृडिइसकेकाे महासंघले जनाएको छ ।
घरेलु तथा साना उद्याेग महासंघ बाँकेका महासचिव जीआर भुसालले किसान, व्यापारी र उपभाेक्तालाई एउटै एप्लिकेशनमा जाेड्नेगरी ‘कृषि पथ’ एप्लिकेसन निर्माण गरिएकाे जानकारी गराए ।

नेपालमा करिव ९७ प्रतिशत टेलीफाेन माेवाईल प्रयाेगकर्ता रहेकाे,करिव ७४ प्रतिशत जनसंख्या ईन्टरनेटकाे पहुँचमा रहेकाे र करिव ४० प्रतिशत जनसंख्या दुवै माेवाईल र ईन्टरनेटकाे पहुचमा रहेकाेले याे सेवा सुरु गरिएकाे उनकाे भनाइ थियो ।
यसले कृषि क्यालेण्डर, बीउ विजन र कृषि सामाग्रिकाे मूल्य, उत्पादन, सेवा वा सामाग्रि खरिद, माैषम पुर्वानुमान, कृषि उत्पादनकाे मूल्य, उत्पादन, कृषि हाट बजार लगायतका विषयबस्तुमा जानकारी दिने जनाइएको छ । त्यस्तै ईन्टरनेटकाे पहुंचमा नभएकालाई लक्षित गरेर टाेल फ्रि नम्बर समेत सञ्चालन गरिएकाे उनले बताए ।
याे एप्लिकेशन शुरु भएकाे साढे १ वर्षकाे अवधिमा १ कराेड १० लाख रुपैया बढीकाे काराेवार भएकाे घरेलु तथा साना उद्याेग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले जानकारी दिए । उनका अनुसार याे एप्लिकेशन ४ पटक संशाेधन गरिसकिएकाे र एप्लिकेशनमा १ हजार १ सय किसान जाेडिएका छन् ।

कार्यक्रममा घरेलु तथा साना उद्याेग महासंघका केन्द्रीय सदस्य कनैयालाल कसाैधनले भारतमा सरकार कृषि उत्पादन लागत घटाउने काममा कृयाशिल रहेकाे र नेपालमा सरकारले ध्यान नदिदा किसानले उत्पादन गरेका बस्तुमा उत्पादन लागत उठाउन नसक्ने स्थितिमा रहेकाे गुनासो गरे ।

महासंघकी कार्यवाहक प्रदेश अध्यक्ष शान्ता शर्माले एप्लिकेशनकाे प्रयाेगले किसान, उपभाेक्ता र व्यापारी तीनै पक्षले लाभ लिन सक्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा घरेलु तथा साना उद्याेग महासंघ रुपन्देहीका अध्यक्ष ध्रुवकुमार धितालले कृषिजन्य उत्पादनकाे आयात बढिरहेकाे अवस्थामा एपले आयात प्रतिस्थापनमा सहयाेग गर्न सक्ने बताए ।

नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव बिक्रम खड्काले पछिल्लाे समय अनलाईन मार्केटिङकाे बिकास भएपनि गुणस्तरमा विश्वास गुमाउंदै गएकाले गुणस्तरमा ध्यान दिन आग्रह गरे ।

साे अवसरमा धर्म प्रसाद तिवारीले उत्पादन गरेको अर्गानिक बेलकाे जुस मन्त्री शर्माले अनलाइन माध्यमबाट खरिद गरेका थिए ।