बुटवल,२० चैत । बुटवलमा मुलुककै पहिलो र नमुना ढुवानी ग्राम सञ्चालनमा आएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं.१२ ढवाहस्थित भैरहवा टोलमा तीन विगाह क्षेत्रफलमा निर्माण गरिएको ढुवानी ग्रामकाे आईतबार एक कार्यक्रमकाबीच नेकपा एमालेका सचिब छविलाल विश्वकर्माले उदघाटन गरेका हुन् ।
ढुवानी ग्रामका उदघाटन गर्दै पुर्व मन्त्री समेत रहेका एमाले सचिव विश्वकर्माले स्थानीय तहमा जनप्रतिनिधि आएपछि स्थानीय तहको तिव्र गतिमा विकास भएको दाबी बताए ।
ढुवानी ग्रामले बुटवलका ब्यवसायीलाई सहज बनाएको भन्दै उनलेे ढुवानी ग्रामले बजार क्षेत्रलाई ब्यवस्थित बन्न मद्धत पुगेको उल्लेख गरे ।

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले हेवी लोडका सवारीसाधनलाई व्यवस्थित गर्न निजी क्षेत्रसँगकाे सहकार्यमा ढुवानी ग्रामको निर्माण गरिएको बताए ।
मुलुकको आर्थिक केन्द्रका रुपमा रहेको बुटवलको आर्थिक गतिविधिलाई अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नमुना ढुवानी ग्राम निर्माण गरिएको उनकाे भनाइ थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य,नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष टंक पाेखरेल,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु,रुपन्देही परिवहन प्रालि पुर्व अध्यक्ष माधव नेपाल लगायतले ढुवानी ग्रामकाे उपयोगीता र महत्त्व बारे आ आफ्नो भनाइ राखेका थिए ।
तीन विगाह क्षेत्रफलमा करिब ३० करोड लागतमा सार्वजनिक निजी क्षेत्रको साझेदारीको योजना अनुसार रुपन्देही परिवहन प्रालिसँगको सहकार्यमा ढुवानीग्राम निर्माण गरिएको हो । उपमहानगर स्वामित्वको जग्गामा ढुवानी व्यवसायीको साढे १२ करोड लगानी रहेको रुपन्देही परिवहन प्रालि पुर्व अध्यक्ष माधव नेपालले जानकारी दिए ।
बुटवल उपमहनगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण गरिएको ढुवानी ग्राममा ४९ वटा सेड निर्माण गरिएको उनलेे बताए ।