बुटवल,१९ चैत ।
युनाइटेड मिशन अस्पतालले स्वास्थ्य बीमाका बिरामीको निशुल्क उपचार बन्द गर्ने चेतावनी दिएको छ । स्वास्थ्य बीमा बोर्डले उपचार गरेवापत पाउनुपर्ने रकमको ठूलो हिस्सा सोधभर्ना नगरेको भन्दै अस्पतालले आगामी सोमबारबाट बीमा अन्तरगर्त उपचारका लागि आउने बिरामीसंग छुट्टै पैसा लिने जनाएको हो ।
हाल सम्मको बक्यौता रकमको भुक्तानी, खर्च अनुसारको मूल्य समायोजन, दाबी रकम भुक्तानी १५ दिनभित्र नभएमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने बताइन् । उनले चैत २१ गतेदेखी लागु हुने गरि स्वास्थ्य बीमा बोर्डबाट सोधभर्ना नहुने बराबरको रकम बिरामीबाट नगद भुक्तानी लिने अस्पतालकी निर्देशक डा. रचेल कारखद्धारा जारी सूचनामा जनाइएको छ ।
अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले ६८ वर्षको मिसन अस्पतालको इतिहासमै सबैभन्दा अफ्ठेरो अवस्थामा पुगेको भन्दै धानिनै नसक्ने अवस्था आएपछि यस्तो कदम चाल्नुपरेको बताए । उनले १२ करोड ७ लाख ३७ हजार ५ सय ८७ बक्यौता रकम लिन बाँकी रहेको जानकारी दिए ।
सरकारले पैसा नदिँदा कर्मचारीलाइ नियमित तलब खुवाउन, औषधि खरीद गर्न तथा अन्य प्रशासनिक कार्य गर्न नै नसकिने अवस्थामा पुगेको मिशन अस्पतालले जनाएको छ ।
प्रशासकीय अधिकृत भट्टराईले जिल्लाका सरोकारवालाहरूसंग यसबारेमा पटक पटक छलफल भएको र बीमा बोर्डलाई पटक पटक ध्यानाकर्षण गराईए पनि सुनुवाई नभएपछि सेवा बन्द गर्ने अवस्थामा पुगेको बताए ।
मिसन अस्पतालले २०७४ साल देखि स्वास्थ्य बीमा बोर्डसंग सम्झौँता गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।







