बुटवल,१९ चैत ।
रुपन्देहीमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन आवद्ध पाँच दलबीच चुनावी तालमेल गर्ने सहमति भएको हो ।
त्यसका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेको छ ।
नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको बैठकले रुपन्देहीमा पनि चुनावी तालमेल आवश्यक रहेको भन्दै जिल्ला स्तरीय संयन्त्र गठन गरेको हो ।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजु गुरुङ्ग र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरेको छ ।
उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुस्थिति बुझी केन्द्रलाई सुुझाव पठाउने र जिल्लामा आवश्यक रणनीति तय गर्ने छ । संयन्त्रले आ– आफ्नो पार्टीको स्थानीय तहमा वस्तुस्थिति बुझी २२ चैतमा थप छलफल गर्ने जनाइएको छ । रुपन्देहीमा १६ वटा स्थानीय तह छन् ।