रोल्पा,१७ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्ने कार्यमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीवारदेखि रोल्पाको लिबाङमा सुरु भएको प्रथम प्रादेशिक औद्योगिक, कृषि तथा व्यापार महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले उक्त कुरा बताएका हुन् ।
रोल्पा, रुकुम जस्ता दुर्गम जिल्लामा निकै मेहनत गरेर उत्पादन गरेको अल्लो कपडा लगायतका स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्न प्रदेश सरकारले आउँदो वर्षको बजेटमा विशेष प्राथमिकता दिने प्रतिवद्वता जनाए । भैरहवामा निर्माण सम्पन्न‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यस क्षेत्रमा उत्पादिन वस्तुले सिधै अन्तर्राष्ट्रिय बजार पाउने मुख्यमन्त्री केसीकाे भनाइ थियो ।
मुख्यमन्त्री केसीले भने, ‘तपाईँहरू उत्पादन गर्नुस्, हामी त्यसको बजारीकरणमा सहयोग गर्छाैँ ।’
कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले प्रदेश सरकारले १२ वटा उद्योग स्थापनाको तयारी गरेको जानकारी गराउदै प्रदेश सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योग स्थापनालाई प्राथमिकता दिएको उल्लेख गरे । उनले भने, ‘व्यवसायीहरू उद्योगमा लगानी गर्न तयार हुनुस्, वातावरण हामी बनाउँछौँ ।’
नेपाल घरेलु तथा साना उद्योग महासंघ रोल्पाको आयोजनामा भएको महोत्सवमा स्थानीय घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, कृषि तथा अन्य विभिन्न वस्तुको व्यापारिक स्टलहरू राखिएको छ । यही चैत २७ गतेसम्म सञ्चालन हुने महोत्सवले जिल्लाको उद्योग, कृषि, व्यापार र पर्यटन क्षेत्रको प्रवर्द्दन गर्ने उद्देश्य रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ रोल्पाका अध्यक्ष मिलन डाँगीले जानकारी दिए ।






