बुटवल,१६ चैत । प्रदेश पूर्वाधार विकास समितिले लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्रको विषयमा छानवीन गर्न प्रदेशका मुख्य न्यायाधिवक्ता श्री कृष्ण सुवेदीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ ।
मुख्यमन्त्री एवं प्रदेश पूर्वाधार विकास समितिका अध्यक्ष कुलप्रसाद केसीको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रदेशका मुख्य न्यायाधिवक्ता श्री कृष्ण सुवेदीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए ।
कार्यदलको सदस्यमा प्रदेशका कानून,महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापा र पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव महेशचन्द्र न्यौपाने रहेका छन् ।
समितिले प्रादेशिक टेण्डर प्रक्रियाकाे विषयमा गहिरो ढंगले अध्ययन गरी १५ दिन भित्र समितिमा प्रतिवेदन पेश गर्ने कार्यादेश छ ।
टेण्डर प्रक्रियामा मिलेमतो भएको आराेप लागेपछि हाल टेण्डर रद्ध भैसकेको छ । छानबिन गर्न गठीत कार्यदलका संयोजक सुवेदीले घटनाको स्वतन्त्र र विस्तृत छानबिन गरि निर्धारित समयमै प्रतिवेदन बुझाउने बताए । उनले भने- `त्यहाँ के भएको छ, बाहिर उठेका विषय र कानूनी प्रक्रियाका बारेमा गहिरो अध्ययन गर्दछाँ अनि समितिलाई रिपोर्ट बुझाउने छाँ ।”
यसैबीच प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले पदबाट दिएको राजनीनामा पत्र आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दर्ता भएको छ ।
उनले मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयलाई पठाएको राजिनामा पत्र आज दर्ता गरि आवश्यक कानुनी प्रक्रियामा अगाडि बढाइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयका अधिकृत अष्टराज न्यौपानेले जानकारी दिए ।
प्रदेश मन्त्रीपरिषदकाे बैठकले उनलाई २०७८ असोज २० गते नियुक्ति गरेको थियो । टेण्डरमा मिलेमतो भएको आराेप लागेपछि उनलेे यही चैत्र १४ गते राजीनामा दिएका थिए ।






