बुटवल,१४ चैत ।
बुटवलमा यहि चैत १० गतेदेखि सञ्चालित कृषिमेला साेमबार समापन भएको छ ।
बुटवल उद्याेग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि, खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयकाे संयुक्त आयाेजनामा सञ्चालन गरिएकाे कृषि मेला साेमबार एक कार्यक्रमकाबीच समापन गरिएको हाे ।
मेलाकाे समापन कार्यक्रमलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेश कृषि, खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले कृषिकाे विकासमा काम गर्न मन्त्रालय तयार रहेकाे बताउँदै त्यसकाे लागि ठाेस प्रस्ताव ल्याउन आग्रह गरिन् ।
सरकारले ल्याएका अनुदानका कार्यक्रममा केही जटिलता भएकाे महशुस गरेर ती कुरामा संशाेधनकाे तयारी गरिएकाे समेत उनलेे जानकारी गराइन् ।
नेपाल उद्याेग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले कृषि सहज पेशा नभएकाेले सरकारले लिने कृषि नीति सहज बनाईनु पर्नेमा जाेड दिए ।
आयाेजक बुटवल उद्याेग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयाेजक उज्ज्वलप्रसाद कसजूले कृषिकाे व्यवसायिक विकासकाे लागि भू-उपयाेग नीति बनाउनु पर्ने बताए । उनलेे कृषिमा प्रविधि सहितकाे व्यवसायिक विकास र त्यसका माध्यमबाट मुलुककाे आर्थिक विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ किसानलाई उत्साहित गर्न र नीति निर्माणमा सरकारलाई दवाव सिर्जना गर्न पनि कृषि मेला सञ्चालन गरिएकाे जानकारी गराए ।
मेला समापनकाे अवसरमा उत्कष्ट स्टल, प्रविधि तथा उत्पादनलाई पुरस्कृत गरिएकाे आयाेजकले जनाएका छन् ।
पाँच दिनसम्म सञ्चालन गरिएको मेलामा कृषिमा अत्याधुनिक प्रविधि (जस्तै :- धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइड्रोपोनिक्स, मौरी पालन, जैबिक मल आदी)को प्रदर्शनी गरिएको जनाइएको छ ।






