बुटवल,१४ चैत ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आह्वान गरिएको टेण्डर अन्तत: रद्द भएको छ । नयाँ भवन निर्माणका लागि आह्वान गरिएको ठेक्का कुनै दुई कम्पनी मात्र छनोट हुने गरी स्पेसिफिकेसन तयार गरेकाे भनि आलोचना भएपछि प्रदेश पूर्वाधार विकास प्राधिकरणले टेण्डर रद्द गरेको हो ।

टेण्डर प्रतिस्पर्धामा अरु कम्पनी सहभागी हुन नमिल्ने गरी सेटिङमा स्पेसिफिकेसन तयार गरिएको भन्दै केही निर्माण व्यवसायीले विरोध गरेका थिए ।

करिब ५ अर्ब रुपैयाँ लागतको प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले आह्वान गरेको टेण्डर प्रक्रियामा सीमित निर्माण कम्पनी मात्रै छनोट हुँदा राज्यलाई आर्थिक भार बढी पर्ने भएकाले टेण्डर रद्द गरेको प्राधिकरणका प्राविधिक इन्जिनियर गिरिराज पौडेलले जानकारी दिए ।

‘सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ ग बमोजिम सोमबारको निर्णय अनुसार टेण्डर रद्द गरिएको प्राधिकरणले जनाएको छ । अहिले उठिरहेका विवादलाई समाधान गर्ने गरी पुनः टेण्डर आह्वान हुने इन्जिनियर पौडेलले बताए ।

प्राधिरकणले आह्वान गरेको ठेक्कामा रमेश शर्माको शर्मा र रसुवा जेभी मात्र सहभागी भएका थिए । ठेक्का आह्वान सेटिङमा भएको भनी आलोचना भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले पनि प्राधिकरणकाे ध्यानआर्कषण गराएको थियो ।

टेण्डरकाे बिषयलाई लिएर उच्च अदालत तुल्सीपुर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरु परेका थिए ।

यहि बिषयलाइ लिएर प्रादेशिक पूर्वाधार विकास प्राधिकरणका सिइयो अनन्तराज घिमिरेले पदबाट राजीनामा दिएका छन् ।उनले आफू २०५६ देखि आबद्ध पार्टी पनि छाडेका छन् ।