बुटवल,१३ चैत ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणले तयार पारेको लुम्बिनी प्रदेशको स्थायी राजधानीकाे गुरूयाेजना प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
दाङको राप्ती नदि किनारामा आधुनिक शहरको परिकल्पना सहित निर्माण गरिएको गुरुयोजना आईतवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा आयाेजित एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीलाई हस्तान्तरण गरेको हो ।
राप्ती नदि किनारामा बलियो तटबन्धन गर्दै नदिको सभ्यतामा आधारित शहर सहितको राजधानी निर्माण गर्ने योजना बनाईएको छ । शहर भित्र बुद्ध आकृतिको रुपमा मन्त्रालयहरुका कार्यालयको स्थापना गर्ने गुरुयोजनामा उल्लेख गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर अनन्तराज घिमिरेले जानकारी दिए ।
गुरुयोजना सम्पन्न गर्न करिब १५ वर्ष लाग्ने अनुमान छ । मन्त्रालयका प्रशासनिक भवन निर्माणको लागि ३ अर्ब र गुरुयोजना पुरा गर्न करिब ७० अर्ब बजेट चाहिने अनुमान गरिएको घिमिरेले बताए ।
प्रदेशको राजधानी निर्माण गर्न प्रदेश सरकारले जग्गा एकिकरण गर्ने कार्यविधि समेत बनाएकोे छ ।
२०७८ मंसिर १६ को मन्त्रिपरिषदको बैठकले मुख्यन्यायाधिवक्ताको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले जग्गा एकिकरण गर्ने कार्यविधि तयार गरि आजै मुख्यमन्त्री केसीलाई बुझाएको छ ।
प्रदेश सरकारले परिकल्पना गरेको आधुनिक शहर निर्माण गर्ने याेजना अनुरूप प्रदेश भरको जग्गाको ब्यवस्थापन गर्न मिल्ने गरि जग्गा एकिकरण कार्यविधि निर्माण गरिएको जग्गा एकीकरण कार्यदलका संयाेजक समेत रहेका लुम्म्बिनी प्रदेशका मुख्यन्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले जानकारी दिए ।
देउखुरीका स्थानीय जनता, सरोकारवाहरुसँग ब्यापक छलफल गरि कार्यविधि तयार गरिएको उनले बताए । प्रदेश सरकारको मन्त्रीपरिषद बैठकबाट पारित भएपछि गुरुयोजनाले कानुनी मान्यता पाउने छ । गुरुयोजना अनुसार नै देउखरीमा सांस्कृतिक ,आधुनिक शहरको निर्माण सुरु हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताए ।
देउखुरीलाई सांस्कृतिक शहरको रुपमा विकास गर्ने योजना सहित गुरुयोजना तयार भएको मुख्यमन्त्री केसीकाे भनाइ छ ।
२०७७ असोज २० गते बसेको प्रदेशसभाकाे बैठकले दाङको देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकेको हो । स्थायी राजधानीमा प्रशासन सञ्चालनको लागि आवश्यक भवन नभएपछि ,अहिले अस्थायी राजधानी बुटवलबाट नै प्रदेश सरकारको प्रशासनिक काम सञ्चालन हुँदै आएको छ ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणले १ वर्ष लगाएर गुरुयोजना
निर्माण गरेकाे हो ।






