बुटवल,१३ चैत ।
लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिचाई मन्त्री विरवहादुर रानाले सिचाई प्रणालीलाई थप व्यवस्थित बनाउँदै प्रदेशलाई खाद्यन्नमा आत्मनिर्भर बनाउने योजना सहित मन्त्रालयले काम गरिरहेको बताएका छन् ।
कृषि प्रधान मुलुक नेपालमा अर्बौंकाे खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री रानाले कृषिको आधार, सिचाई प्रणालीको सुधार भन्ने नारालाई साकार बनाउने योजनाकासाथ प्रदेश सरकार अगाडि बढेकाे बताए ।

आइतबार रूपन्देहीको देवदह ४ देविदमारमा आयाेजित देवी दमार सिचाई योजनाकाे उद्घाटन गर्दै मन्त्री रानाले सिंचाइ प्रणालीमा सुधार गरेर खाद्यान्न उत्पादनमा बृद्वि गरेर जनताको जिवनस्तर माथि उठाउन जनप्रतिनिधि र कर्मचारी मिलेर अगाडि बढ्नुपर्नेमा जाेड दिए ।
नेपालमा व्यवस्था परिवर्तन भए,पद्धति परिवर्तन भए तर काम गर्ने प्रबृत्ति परिवर्तन नहुदा मुलुककाे बिकास हुन नसकेको भन्दै उनलेे काम गर्ने पुरानाे प्रबृत्ति परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याए । उनले समयको माग अनुसार प्रदेश सरकार उर्जा जलस्रोत तथा सिचाईको क्षेत्रमा केन्द्रिकृत भएर लागिरहेको बताउनुभयो ।

कार्यक्रममा उर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री अर्जुनकुमार क्षेष्ठले अब कुरा गरेर नभई काम गरेर देखाउने बेला आएको भन्दै कृषि उत्पादन नबढाई मुलुक समृद्ध बन्न नसक्ने बताए ।

देविदमार सिंचाइ जल उपभोक्ता समितिका अध्यक्ष मनबहादुर थारूको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डा. कृष्ण प्रसाद न्यौपाने, देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर केसी, मन्त्रालयका सचिव दिपक घिमिरे,देवदह वडा ४ का वडा अध्यक्ष दिपक चापागाइ,सिंचाइ योजना प्रमुख विष्णुप्रसाद पाैडेल,उपभोक्ता समितिका उपाध्यक्ष छवि भट्टराई,सचिव लाेकराज भण्डारी लगायतले सिचाई तथा जलस्रोतको उचित उपभोग गर्न सकेमा देश समृद्ध बन्न सक्ने बताएका थिए ।