बुटवल,१२ चैत ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब टोप अश्लामीले मुलुकको अर्थतन्त्र माथि उठाउने बिषयमा दलहरु सचेत नभए श्रीलंकामा जस्तै प्रश्नपत्र छाप्ने कागजको अभावमा नेपाली विद्यार्थीहरु पनि परीक्षा दिनबाट बञ्चित हुनुपर्ने अवस्था आउनसक्ने चिन्ता ब्यक्त गरेका छन् ।
पार्टी निकट जनमुक्ति युवा संघ तिलोत्तमा नगर समितिद्धारा शनिबार रुपन्देहीको मंगलापूरमा आयोजित युवा जागरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिब अश्लामीले कमजोर अर्थतन्त्रलाई माथि उकास्ने बिषयमा दलहरु सचेत नभए मुलुकको आर्थिक अवस्था थप संकटमा पर्ने बताएका हुन् ।
मागेरै देश चलाउने हो भन्ने ठुला दलका नेताहरुमा रहेको मानसीकताकै कारण मुलुक पछाडी परेको भन्दै उनले देशमा रहेका उद्योग कलकारखानाहरुलाई भूतबंगलामा परिणत गर्ने र नयाँ उद्योग कल कारखाना पनि नखोलेर कसरी मुलुक समृद्ध बन्न सक्छ भनि प्रश्न गरे ।
जनमुक्ति पार्टीले गत निर्वाचनमा बनेको बाम गठबन्धनलाई बाम गठबन्धन नभएर खाम गठबन्धनको संज्ञा दिएको स्मरण गर्दै महासचिब अश्लामीले जनमुक्ति पार्टीको उक्त भनाई तीन बर्षमै सहि सावीत भएको दाबी गरे ।
कार्यक्रममा जनमुक्ति युवा संघका केन्द्रीय उपाध्यक्ष रोशन अश्लामीले तिलोत्तमा नगरपालिका जनतालाई सेवा सुविधा दिनेभन्दा पनि आफु र आफ्ना कार्यकर्ताहरुले कसरी सुविधा लिने भन्नेमा बढी केन्द्रीत भएको बताउदै उनले तिलोत्तमा नगरपालिका सार्वजनिक जग्गा बाड्ने र पुरातत्व बिभागको निर्देशन समेत लत्याएर पुरातात्वीक महत्वका सम्पदा मासेर आलिशान भवन बनाउने कार्यमा लागेको आरोप लगाए ।
जनमुक्ति युवा संघ तिलोत्तमा नगर अध्यक्ष बुद्धिबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनमुक्ति युवा संघका केन्द्रीय सचिब डि बि थापा,राष्ट्रिय जनमुक्ति पार्टी तिलोत्तमा नगर अध्यक्ष भोमबहादुर बुढा मगर,जनमुक्ति युवा संघ रुपन्देहीका अध्यक्ष एकु राना,नगर उपाध्यक्ष कमला ठेढी,नगर सचिब इशा छन्त्याल लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी २५ जना युवाहरु जनमुक्ति पार्टीमा प्रवेश गरेका थिए ।






