बुटवल,११ चैत्र । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले कोभिडका कारण कमजोर भएको नेपालको अर्थतन्त्र माथि उठाउन केही समयका लागि भए पनि विलासिताका सामान आयात राेक्नुपर्ने बताएका छन् ।
कोभिडका कारण तहसनहस भएको अर्थतन्त्र बलियो बनाउन विदेशबाट आयत हुने बिलासिताका वस्तुमा केही समय रोक लगाउनु पर्ने उनको भनाइ थियो ।
नेकपा माओवादी केन्द्र निकट उद्योग तथा वाणिज्य विभागले गरेका निर्णय सार्वजनिक गर्न शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साे बिभागका प्रमुख समेत रहेका क्षेत्रीले कमजोर अर्थतन्त्र सुधार गर्न हुण्डि लगायतका अबैध कारोवार नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
नेपालकाे अर्थतन्त्र श्रीलंकाकाे जस्तो भइनसकेको भन्दै उनलेे देशको अर्थतन्त्रले अबको छ महिनाको मात्रै आयात धान्न सक्ने अवस्थामा रहेको बताए ।
हाल कमजोर अवस्थामा रहेको मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक दलहरु सचेत र सजग बन्नु पर्ने धारणा राखे ।

जिल्ला जिल्लामा नयां उद्योगग्राम खोल्ने राज्यको योजना भएपनि साे अनुसारको नीति बन्न नसक्दा नयां उद्योगग्रामप्रति आकर्षण बढ्न नसकेको भन्दै उनलेे उद्योग तथा लगानीमैत्री नीति निर्माण गर्नुपर्ने विचार ब्यक्त गरे ।
नेकपमा माओवादी केन्द्रका केन्द्रिय सदस्यसमेत रहनुभएका नेता क्षेत्रीले विदेशी दातृ निकायहरुको सहयोगबाट चलेर अहिले बन्द अवस्थामा रहेका उद्योगहरु पुनः सञ्चालन गर्ने बिषयमा अहिले सरकार र पार्टीमा छलफल भैरहेको भन्दै उपाध्यक्ष क्षेत्रीले रूग्ण उद्योग पुनः सञ्चालन गर्न सके अर्थतन्त्रमा सुधार हुने बताए ।
बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन पार्टी निकटकाे उद्योग तथा बाणिज्य विभागका सदस्यहरू भाैतिक,आर्थिक र नैतिक रूपमा सम्बन्धित जिल्लामा खट्ने निर्णय समेत गरेको विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै बैठकले विभागकाे रिक्त सचिवालय सदस्यमध्ये पश्चिमबाट टिकाराम जैसी र पुर्वबाट ज्ञान बहादुर बस्नेतलाई मनाेनयन गर्ने निर्णय समेत गरेको विभागिय प्रमुख क्षेत्रीले जानकारी दिए ।