बुटवल,१० चैत्र ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा बुटवलमा बिहीबारदेखि कृषि मेला–२०७८ शुरु भएको छ ।
‘बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कृषि मेलाको बिहिबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका हुन् । मेलाको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले यस क्षेत्रको कृषिको आधुनिकिकरण र व्यवसायिकिकरणका लागि पानी अपरिहार्य रहेको बताउँदै राष्ट्रिय उत्पादनमा योगदान गर्ने कालिगण्डकी–तिनाउ डाईभर्सनमा सहयोग गर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरे ।
राष्ट्रिय हितलाई ख्याल नगरी सन्धि सम्झौता गरिएको कारण आफ्नो देशको पानी आफैले प्रयोग गर्न नपाईएको बताउँदै प्रदेश प्रमुख शेरचनले यहिबाट लगेको पानीले भारतमा ३÷४ बाली उत्पादन गर्ने र त्यहि उत्पादन नेपालमा आयात गर्नुपरेको बताए । यो परिस्थिती तोड्नका लागि पनि कालिगण्डकी–तिनाउ डाईभर्सन अपरिहार्य रहेको धारणा राखे ।
त्यस्तै उनले आयात प्रतिस्थापन गर्ने गरी कृषि उत्पादनमा जोड दिए । त्यसको लागि सरकारले नीतिगत व्यवस्था गरि कृषिमा आकर्षण गर्नुपर्ने बिचार ब्यक्त गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका अध्यक्ष अरुणराज सुमार्गीले कृषिको विकासको लागि नीतिगत व्यवस्था, वैज्ञानिक व्यवसायिकिकरण आवश्यक रहेको बताए । उनले त्यसको लागि महासंघले सय किसान अभियान सञ्चालन गरेकाे पनि जानकारी गराए । उक्त अभियानका माध्यमबाट पैसा, प्रविधी र प्राविधिकमा जोड दिईने बताउदै उनले विउ आयात रोकिने हो भने माटो खानुपर्ने अवस्था आउने धारणा राखे ।
कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कृषिमा व्यवसायिक विकास गरि कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन विशिष्टिकृत कृषि मेला आयोजना गरिएको बताए । उनले कृषिमा आधुनिकिकरण र व्यवसायिक विकासको लागि संघले पहिलेदेखि नै पहल र पैरवी गर्दै आएको उल्लेख गरे । अध्यक्ष कसजूले कृषिमा बैज्ञानिक उत्पादन प्रणाली विकासको लागि सरकारसंग सोही अनुसारको नीति बनाईदिन पनि आग्रह गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बुटवल उपमहानगरपालिका भित्र २ हजार ९ सय हेक्टर कृषियोग्य जमिन रहेको र नगरपालिकाले तरकारी विउ, मल, दुग्ध उत्पादनको लागि भकारो सुधार लगायतका कार्यक्रम सञ्चालन गरेको जानकारी गराए ।
त्यस्तै नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले जमिनको खण्डिकरणले व्यवसायिक कृषिमा बाधा हुने बताउँदै जमिनको चक्लाबन्दी र सामुहिक खेती प्रणालीमा जोड दिए ।
कार्यक्रममा संघका सल्लाहकार तथा पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मराज सर्वज्ञ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।
संघले २०६२ सालदेखि निरन्तर कृषि मेला गर्दै आएको छ । यो दशौं संस्करणको कृषि मेला हो । पछिल्लो समयमा कृषिजन्य उत्पादनको आयातमा समेत अबौं बाहिरिरहेको छ । कृषि क्षेत्रमा रहेको सम्भावनाहरुलाई उजागर गर्न, थप लगानी भित्र्याउन तथा कृषिमा आधुनिकिकरण र प्रतिस्पर्धात्मक क्षमता बढाउनको लागि पनि कृषि मेला फलदायी हुने विश्वास गरिएको छ ।
पाँच दिनसम्म सञ्चालन गरिने मेलामा कृषिमा अत्याधुनिक प्रविधि ( धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइड्रोपोनिक्स, मौरी पालन, जैबिक मल आदी) को प्रदर्शनी गरिने छ । त्यस्तै कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशन गरिने छ । कृषि फूड फेष्टिवलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवद्र्धन गरिने छ । यसले स्थानीय कृषि वस्तुको प्रवद्र्धन, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मेलामा कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल, उत्कृष्ट कृषि उत्पादनको प्रद्र्धशन, कृषि सेवा सम्बन्धि जानकारीमुलक स्टल समावेश गरिने छ । त्यस्तै दुग्धपान प्रतियोगिता, कालिज पालन सम्बन्धि जानकारी तथा परामर्श, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी, कृषिमा आधारित सांस्कृतिक कार्यक्रम गरिने छ ।
गैरनाफामुलक मेलाको रुपमा आयोजना गरिएको कृषिमेलामा अधिकतम ५० स्टल रहेन छन् । मेलामा २५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । त्यस्तै मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।






