बुटवल,२८ फागुन ।
लुम्बिनी प्रदेशको उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत विधेयक २०७८ काे बिषयमा सराेकारवाला निकायहरूबीच अन्तरक्रिया सुरुवात गरेको छ ।

मन्त्रालयले तयार पारेको विधेयकको प्रारम्भिक मस्यौदामाथि बुधबार रूपन्देहीको तिलाेत्तमामा सराेकारवाला निकायहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रदेशका उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री बीरबहादुर रानाले विद्युत सम्बन्धि कानुन सरल,सहज र जनउपयाेगि बनाउन सराेकारवालाहरूबीच छलफल कार्यक्रमकाे आयोजना गरिएको बताए ।
प्रदेशका जनतालाई संघीय लाेकतान्त्रिक गणतन्त्रको अनुभुती गराउन पनि कानुन ब्यबहारिक,सहज
र सरल बनाउनुपर्ने बताउदै मन्त्री रानाले त्यसका लागि आवश्यक सुझाव दिन सराेकारवाला निकायका पदाधिकारीहरूलाई आग्रह गरे ।
मन्त्रालयका सचिव दीपक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशका कानुन,महिला,वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापा,उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालय,उर्जा महाशाखा प्रमुख महेश पाेखरेल,मन्त्रालयकै उर्जा शाखा प्रमुख झलक बहादुर थापा,कानुन अधिकृत कृष्ण बस्याल,कानुन, महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयका कानुन अधिकृत सीता घिमिरे लगायतले विधेयकका बिषयमा आ आफ्नो भनाइ राखेका थिए ।






