बुटवल,२७ फागुन ।
लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना विमा भएको छ ।
पत्रकारिता गर्ने क्रममा पत्रकारहरु भबितब्यमा परेको अवस्थामा आर्थिक सहयोग पुग्ने गरी निःशुल्क दुर्घटना विमा गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारको ७ लाख लगानीमा पत्रकारहरुका लागि शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा त्रिपक्षीय सम्झौता गरिएको हो ।
शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा एक कार्यक्रमकाे आयोजना गरि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, राष्ट्रिय विमा कम्पनी लिमिटेड भैरहवा शाखा र पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट उप सचिव दामोदर भण्डारी, विमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपाने र पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष बसन्त गिरीले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले दुर्घटना बीमाले पत्रकारहरूलाई निर्धक्कका साथ कार्यक्षेत्रमा खट्न प्रेरित गर्ने बिश्वास ब्यक्त गरे ।
आमनागरिकको सुरक्षा गर्ने जिम्मेवारी र दायित्व राज्यको भएकाेले जाेखिमयुक्त क्षेत्रमा खट्ने पत्रकारहरूकाे मनाेवल बढाउन पनि प्रदेश सरकारले पत्रकारहरूकाे बीमा गर्ने कार्यमा सहयोग गरेको बताए । मुलुककाे परिवर्तनमा पत्रकारहरुको ठूलो भूमिका रहेकाे भन्दै मन्त्री शर्माले पत्रकारहरुको दुर्घटना वीमादेखि हरेक प्रकारका कार्यक्रमका लागि प्रदेश सरकार सहयोगी बन्ने प्रतिवद्वता जनाए । उनले वीमा कम्पनपीहरुका झन्झटिला प्रक्रियालाई सुधार गरेर नागरिकलाई सहज रुपमा सेवा दिन आग्रह गरे । मन्त्री शर्माले सरकारी कामहरु ढिलासुस्ती हुने गरेको स्वीकार गर्दै भने– सरकारी निकायहरुमा शासशीय सुधार गर्न आवश्यक रहेको बताए । शासकीय सुधार गरेर मात्र नागरिकलाई सहज रुपमा सेवा दिन सकिने भएकाले त्यसतर्फ पत्रकारहरुको ध्यान जान आवश्यक रहेको मन्त्री शर्माको भनाइ थियो ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव आभा कर्ण श्रेष्ठले मिडियामैत्री शासकीय पद्वति बनाउनु पर्नेमा जोड दिइन । जोखिम मोलेर पत्रकारिता गर्ने पत्रकारहरु भौतिक र आर्थिक रुपले सुरक्षति हुनुपर्ने बताउंदै विमा कम्पनीहरु पत्रकारहरुका लागि सहयोगी बन्न सक्ने बताइन ।
पत्रकार महासंघ लुम्बिनी अध्यक्ष बसन्तराज गिरीले पत्रकारहरुलाई सहयोग पुग्ने गरी दुर्घटना विमा गरिएको बताए । प्रदेश सरकारलाई मिडियामैत्री बन्न आग्रह गर्दै उनलेे पत्रकारहरुको भौतिक र आर्थिक सुरक्षाप्रति गम्भीर बन्न अध्यक्ष गिरीले प्रदेश सरकारलाई आग्रह गरे ।
मिडियाको लागि छुट्टाइएको बजेट सहमयमा सही ठाउंमा खर्च हुने गरी छिटोभन्दा छिटो कार्यक्रम ल्याउन आग्रह गरे ।
राष्ट्रिय विमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपाले पत्रकारहरुको हितका राष्ट्रिय विमा कम्पनी सहयोगी बन्ने प्रतिवद्वता जनाए ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अधिकृत फर्शुराम भट्टराईको सञ्चालनमा कार्यक्रममा भएको थियो ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा १ हजार ७ सय भन्दा वढि पत्रकार भएपनि यसअघि जिल्लाको विमा पोलिसिमा सहभागी नभएका पत्रकारहरुको मात्र पहिलो चरणमा विमा गरिएको पत्रकार महासंघ लुमिबनी प्रदेशका महासचिव विक्रम खड्काले जानकारी दिए ।






