भैरहवा,२७ फागुन ।
तीनवटै तहका सरकार र सराेकारवाला निकायबीच आवश्यक समन्वय हुन नसक्दा पशु पंछीको आयात निर्यातमा समस्या आउने गरेको सराेकारवालाहरूले बताएका छन् ।

‌पशु क्वारेन्टाइन भैरहवाद्वारा शुक्रबार भैरहवामा आयाेजित पशु क्वारेन्टाइन सम्बन्धि ऐन,नियमहरूकाे बिषयमा सराेकारवालाहरूसँगकाे अन्तरक्रिया कार्यक्रममा सहभागी सराेकारवालाहरूले उक्त कुरा बताएका हुन् ।

‌नेपालकाे पशु क्वारेन्टाइन सम्बन्धि प्रक्रिया झन्झटिलो र अब्यवहारीक रहेको भन्दै उनिहरूले तीनवटै तहका सरकार र सराेकारवाला निकायबीच समन्वय नहुँदा थप उत्पन्न हुने गरेको गुनासो गरे ।

समस्या समाधानका लागि तीनवटै सरकारबीच समन्वय हुन जरुरी रहेको बताउदै उनिहरूले पशु क्वारेन्टाइन प्रक्रियालाई थप सहज बनाउन नीतिगत रूपमै सुधार गर्नुपर्नेमा जाेड दिए ।

कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक लेखराज दाहालले तीनवटै तहका सरकारबीच समन्वयको अभावका कारण कहिलेकाही समस्या आउने गरेको भन्दै समस्या समाधानका लागि तीनवटै सरकारबीच समन्वय हुन जरुरी रहेको बताए ।

नेपालमा पशु तथा कृषि सम्बन्धि तथ्यांक नभएको भन्दै उनलेे अब निकट भविष्यमै कृषि गणना हुने र प्राप्त तथ्यांककाे आधारमा नयाँ कार्ययोजना बन्ने जानकारी दिए ।
पशु क्वारेन्टाइन भैरहवाका प्रमुख डा भक्त निउरेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी,कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणाी पाण्डे,पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार मिश्रा,कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्की,ससस्त्र प्रहरी नायब उपरीक्षक निरंकरनाथ सुक्ला,पशु विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख डा उत्तम आचार्य,ह्याचरी संघ लुम्बिनीका अध्यक्ष बासु बडाल,दाना उत्पादक संघ लुम्बिनीका अध्यक्ष गाेविन्द खड्का,पशु क्वारेन्टाइन पश्चिम नवलपरासीका पशु चिकित्सक शाेभाकर ज्ञवाली लगायतले आ आफ्नो भनाइ राखेका थिए ।