बुटवल,१९फागुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सरसफाई अभियानलाई नगरबासीको घर—टोलमा केन्द्रित गर्न थालेको नगरपालिकाले जनाएको छ ।
प्रत्येक घर, व्यवसायिक प्रतिष्ठान, संघ—संस्था, निकायमा जथाभावी फाहोर नगर्ने प्रतिबद्धता सहितको स्टिकर टाँस गरेर सरसफाई अभियानलाई थप प्रभावकारी बनाएको नगरपालिकाको दाबी छ । नगरपालिकामा टोल विकास संस्थामार्फत् नियमित रुपमा समुदाय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ ।
यहीँ अभियानलाई थप प्रभावकारी बनाउँदै सबै नगरबासीलाई थप सचेत गराउन स्टिकर टास्ने कार्य अघि बढाइएको वातावरण शाखाले जनाएको छ । नगरपालिकाले टोल विकास संस्था र खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको समन्वयमा घर—घरमा सरसफाई गर्ने प्रतिबद्धता सहितको स्टिकर टाँस गर्न सुरु गरेको छ ।
सार्वजनिक स्थान, विद्युत्पोल, मुख्य चोकहरुमा समेत सचेतना अभिवृद्धिको लागि स्टिर टाँस गरिनेछ । प्रतिबद्धता स्टिकर टाँस गरी सबै घरधनीबाट प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउने गरी यो अभियान थालिएको हो ।
यसैक्रममा सोही अभियानको सन्दर्भमा नगरपालिका, सञ्जाल र शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको संयुक्त आयोजनामा बिहीबार वडा नं. १, २, ३ र ४ का टोल सञ्जालका पदाधिकारी तथा खानेपानीका पार्षद्हरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको नगरपालिकाले जनाएको छ । त्यसअवसरमा नगर प्रमुख बासुदेव घिमिरेले टोल विकास संस्था र खानेपानी सेवा क्षेत्रका पदाधिकारीहरुलाई स्टिकर हस्तान्तरण गरेको जनाइएको छ ।
कार्यक्रममा नगर प्रमुख घिमिरेले पूर्णसरसफाई उन्मुख नगरपालिकालाई दिगो बनाउन स्टिकर अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
त्यसअवसरमा शंकरनगर खानेपानी संस्थालाई विभागको तर्फबाट प्राप्त भएको सम्मान पत्र अध्यक्ष झविन्द्र भण्डारीलाई हस्तान्तरण गरिएको थियो ।
यसअघि करहिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको सहकार्यमा यस्तै प्रकारको कार्यक्रम गरी स्टिकर टाँस अभियान सुरु भैसकेको नगरपालिकाले जनाएको छ ।






