काठमाण्डाैमा बस्न नसकेका जहाज अब गाैतमबुद्व विमानस्थलमा अवतरण गर्ने सक्ने
बुटवल,१७ फागुन । भैरहवामा स्थिति गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यासायिक उडान सञ्चालन हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेशन फ्लाइट) सम्पन्न गरेसँगै बुद्ध जयन्तीका दिनदेखि व्यावसायिक उडान हुने नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

क्यालिब्रेशन फ्लाइट सकिएसँगै वैशाख १ गतेदेखि विमानस्थलमा परीक्षण उडान गर्ने नागरिक उड्डयन प्राधिकरणकाे तयारी छ । नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत
वैशाख १ गते परीक्षण उडान गरिने पनि प्राधिकरणले जनाएको छ । विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एअरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र जेठ २ गते अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले जानकारी दिए ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै जहाज आकाशमै ‘होल्ड’ गर्नुपर्ने समस्या समाधान हुने महानिर्देशक अधिकारीले बताए । हवाई मार्गमा आपत्कालीन अवस्था आउँदा बन्दोबस्तीका सामग्रीसहितको विमानस्थल पछ्याउँदै काठमाण्डाै आउनुपर्ने बाध्यताको अन्त्य हुने उनलेे दाबी गरे । नेपालमा आकस्मिक अवतरणका लागि आवश्यक सम्पूर्ण पूर्वाधार व्यवस्थासहितको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किनुपर्ने बाध्यता थियो । अब भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा समस्या आउँदा जहाजहरू भारतको लखनउ डाइभर्ट हुनुपर्ने अवस्थाको अन्त्य हुने महानिर्देशक अधिकारीले बताए ।

गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को मापदण्डअनुसार विमानस्थलमा उड्ने अधिकतम ठूलो जहाजको क्षमताअनुसार आकस्मिक अवतरणका लागि चाहिने न्यूनतम मापदण्डमा बनेको अधिकारीको भनाइ छ । त्रिभुवन विमानस्थलको भन्दा थप प्रतिकूल मौसममा पनि काठमाण्डाैमा अवतरण हुन नसकेका जहाज अब गौतम बुद्ध विमानस्थलमा सुरक्षित अवतरण हुन सक्नेछन् । त्यस्तै यस विमानस्थलमा ल्यान्डिङ गियर नखुल्ने, तीव्र गतिमा आएको विमानको घर्षण धान्न नसक्ने, इन्धन ट्याङ्कमा आएका समस्या, विमानको पङ्खामा आएका समस्या, आगोजन्य समस्या र प्रतिकूल मौसममा समेत जहाज सुरक्षित अवतरण गर्न सक्ने उनले जानकारी दिए ।

विमानस्थलमा उडानका लागि नयाँ रुटको विषयमा भारत सरकार र नेपाल सरकारबीच सरकार–सरकार (जीटुजी) मार्फत काम भइरहेको बताउदै महानिर्देशक अधिकारीले तत्कालका लागि भने पुरानै रुट अनुसार उडान हुने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा यस विमानस्थलबाट दिगो पर्यटन विकास गर्ने सरकारको लक्ष्य छ । विमानस्थलको रन–वे तीन हजार मिटरको रहेको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एअरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा भवन मर्मत गरेर जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गरेर सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको अधिकारीले बताए । विमानस्थलमा उडान सुरु भएसँगै विश्वका बौद्ध धर्मावलम्बीहरू सिधै लुम्बिनीमा आउन सक्ने उनको भनाइ छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको प्राधिकरणका महानिर्देशक अधिकारीले जानकारी दिए । अध्यागमन, भन्सार, क्वरेण्टीन र सुरक्षा एजेन्सीहरूको त्यहीअनुसारको दरबन्दीमा जनशक्ति व्यवस्थापन भएको उनलेे बताए । विमानस्थल राष्ट्रिय गौरवको आयोजनामा निर्माण भएकाले प्राधिकरणको मात्रै विमानस्थल नभएको भन्दै अधिकारीले लगानीकर्ता सबैले आ–आफ्नो तरिकाबाट काम गरिरहेको बताए ।
त्यस्तै महानिर्देशक अधिकारीले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि नेपालमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्ने विमान कम्पनीहरूसँग औपचारिक रूपमा छलफल भइरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा समेत सबैले जानकारी पाउने गरी नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कहरू प्रकाशन गर्ने सरकारको तयारी छ । विमानस्थलको तथ्याङ्क प्रकाशनपछि क्यानले अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूलाई बोलाएर विमानस्थल तयार भएको र सरकारले दिने सहुलियतको विषयमा स्पष्ट जानकारी दिने उनको भनाइ छ ।
महानिर्देशक अधिकारीले विमानस्थल व्यावसायिक ढङ्गले सञ्चालन गर्दा विमानस्थलको अप्रेशन, मर्मत लगायत समग्र काम निजी क्षेत्रलाई दिनु उपयोग हुने सुझाव दिए ।