बुटवल,१७ फागुन ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले निजि क्षेत्रसँग रहेको ज्ञान,सीप र क्षमतालाई देशको विकासमा कसरी सदुपयोग गर्न सक्न्छि भन्ने बिषयमा गम्भीर छलफल हुन जरुरी रहेको बताएका छन् ।
सोमबार बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री खड्काले उक्त कुरा बताएका हुन् ।

निजि क्षेत्रसँग मुलुकको विकासका लागि अपार ज्ञान,सीप र क्षमता रहेको भन्दै उनले उनिहरुसँग रहेको अपार ज्ञान,सीप र क्षमतालाई कसरी देशको विकासमा सदुपयोग गर्न सक्न्छि भन्ने बिषयमा गम्भीर छलफल गरेर समृद्धिको खाका कोर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय नेपाल धेरै कुरामा परनिर्भर हुँदै गएको भन्दै मन्त्री खड्काले कुनै समय खाद्यान्न,लत्ताकपडा लगायतमा आत्मनिर्भर रहेको मुलुक किन परनिर्भर हुन पुग्यो भन्ने बिषयमा पनि गम्भीर समिक्षा गर्नुपर्ने बिचार ब्यक्त गरे ।

लामो संघर्ष र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको स्मरण गदै मन्त्री खड्काले केन्दीय मानसीकता त्याग्न नसकेका कारण संविधानले ब्यवस्था गरेका अधिकार अझैसम्म पनि प्रदेशमा हस्तान्तरण नहुँदा जनताले संघीयताको मर्म अनुरुपको सेवा सुबिधा प्राप्त गर्न नसकेको बताए ।

औद्योगिकीकरण बीना मुलुक समृद्ध हुन नसक्ने भन्दै उनले सरकार त्यसतर्फ अग्रसर भएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले औगोगिक विकास बीना मुलुकको समृद्धि सम्भव छैन भन्ने बुझेर पनि मुलुकमा औद्योगिकमैत्री वातावरण बन्न नसकेको भन्दै उनले भएका उद्योगि ब्यवसायीहरुलाई निरास बनाएर कसरी नयाँ उद्योग थपिन्छन् भनि प्रश्न गरे ।

उनले मुलुकको समृद्धिका लागि औद्योगिकमैत्री ऐन कानून निर्माण गर्नुपर्नेमा जोड दिए ।
बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराइको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका पुर्व अध्यक्षहरु एजाज आलम,गणेश प्रसाद अधिकारी लगायतले मुलुकको समृद्धिका लागि औद्योगिकमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।