बुटवल,१६ फागुन ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले योजना आयोग र सरकारकाबीच तालमेल हुन नसकेका कारण पर्याप्त पुजिंगत खर्च हुन नसकेको बताएका छन् ।
नवनियुक्त प्रदेश योजना आयोगको ६ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष क्षेत्रीले बजेट बनाउँदा र खर्च गर्दा सरकार र योजना आयोगबीच तालमेल हुन नसक्दा पुँजिगत खर्च बृद्धि हुन नसकेको बताएका हुन् ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म पुँजिगत खर्च १ दशमलव ४७ प्रतिशत मात्र भएको उल्लेख गर्दै उनले चालु खर्च भने २२ दशमलव ५७ प्रतिशत भएको जानकारी दिए । आफु आयोगमा आएपछि ८ वटा बहुवर्षिय आयोजनाहरु स्वीकृत गरेको जनाउँदै उपाध्यक्ष क्षेत्रीले १० वटा बहुवर्षिय आयोजनाहरुको अनुगमन गरिएको बताए । उनले आफु आएपछि प्रदेश विकास बैंकको अवधारणा अगाडी सारिएको जानकारी पनि दिए ।
योजना आयोगले पर्यटन क्षेत्रमा डिजिटल सर्किट निर्माण गर्ने, सीमानाकाहरुमा अन्तरराष्ट्रिय व्यापार केन्द्र स्थापना गर्ने, तिनाउ नदि थुनेर स्टिमर चलाउने जस्ता योजनाहरु प्रस्ताव गरिएको उपाध्क्ष क्षेत्रीले बताए । प्रदेश विश्वबिद्यालय स्थापना गर्न बाँकेको खजुरा, दाङको देवचुली, कपिलवस्तुको बहादुरगन्ज र दाङकै महेन्द्र संस्कृत विश्वबिद्यालयको जग्गामा सम्भाब्यता अध्ययन थालिएको पनि क्षेत्रीले बताए ।
आयोगको योजनामा लुम्बिनी विकास कोषका नाममा रहेको विद्युतीय बसहरुलाई निजीक्षेत्रको सहकार्यमा संचालन गर्न थालिएको उपाध्यक्ष क्षेत्रीले जानकारी दिए । उनले लुम्बिनी, भैरहवा, बुटवल र सैनामैनाको रिङरोड हुँदै लुम्बिनी पुग्ने गरि ३ वटा बिद्युतीय बस तथा अन्तरराष्ट्रिय विमानस्थल र लुम्बिनीमा चल्ने गरि २ वटा बस संचालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको पनि बताए ।






