बुटवल,१५ फागुन ।
भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भएको छ ।
निर्धारित समय अनुसार आइतबार क्लालिब्रेसन फ्लाइट सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
क्यालिब्रेसन फ्लाइटका लागि एरोथाइको जहाज ५ फागुनमा नेपाल आएको थियो ।
पुर्वनिधारीत समयमै उडानहरु पूरा गरेको प्राधिकरणले जनाएको छ । पूर्वनिर्धारित तालिका अनुसार जहाज सोमबार थाइल्याण्ड फर्कनु पर्ने थियो । तर, उपकरण जडित जहाज नेपाल आएको मौकामा करिब आधा दर्जन आन्तरिक विमानस्थलहरुमा पनि परीक्षण उडान गर्ने योजना अनुसार जहाज भैरहवामै रहेको छ । सोही अनुसार जहाज आइतबार नै पोखरा जाने र आन्तरिक विमानस्थलहरुमा परीक्षण उडान गर्ने प्राधिकरणको योजना छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार जहाज मार्च ४ तारिखसम्म नेपालमै रहने छ । यो जहाजबाट पोखरा, विराटनगर, नेपालगञ्ज, सिमरा र काठमाडौंमा क्यालिब्रेसन उडानको तयारी छ ।
आइतबार सकिएको क्यालिब्रेसन फ्लाइटपछि अब एरो थाईले प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाउने छ । यसरी प्रतिवेदन आएपछि यसलाई प्राधिकरणको एरोनटिकल इन्फरमेसन म्यानेजमेन्ट (एएमआई) विभागले प्रकाशित गर्छ । जसका आधारमा विमानस्थल उडानयोग्य भए÷नभएको निश्चित हुन्छ । त्यसपछि विमानस्थलमा परीक्षण उडानको बाटो खुल्ने ति अधिकारीले जानकारी गराए । परीक्षण उडान सम्पन्न भएपछि भने प्राधिकरणले व्यवसायिक उडानका लागि एयरलाइन्स कम्पनीलाई आह्वान गर्नेछ । यो विमानस्थलमा बुद्ध जयन्तीको अवसर पारी २ जेठमा उद्घाटन उडान गर्ने तयारी प्राधिकरणले गरेको छ ।
अबको दुई महिनामा विमानस्थलमा अध्यागमन, सुरक्षा निकाय, भन्सार, नेपाल आयल निगमसहितका सरोकारवाला निकायले समेत आफ्ना संरचनाहरु यहाँ राख्नेछन् । त्यसपछि विमानस्थल व्यवसायिक उडानका लागि योग्य हुनेछ । सन् २०१४ मा निर्माण थालिएको यो विमानस्थल ८ वर्षपछि संचालनमा आउने प्रक्रियामा छ । यो विमानस्थल आयोजना राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा कम समयमा संचालनमा आउने आयोजना बन्दैछ ।






