बुटवल,१४ फागुन ।
बुटवललाई स्वास्थ्य सेवाको हवको रुपमा विकास गर्नुपर्ने बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् ।
शनिबार बुटवलमा आयोजित प्रजातन्त्रवादी चिकित्सक संघ,लुम्बिनी प्रदेशको पदस्थापन कार्यक्रममा बोल्ने सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँड,क्षेत्रीय सभापति हरी लम्साल,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतका वक्ताहरुले पछिल्लो समय बुटवलमा पर्याप्त बिशेषज्ञ चिकित्सकहरु भए पनि आधुनिक उपकरणको अभावका कारण उपचारकालागि बाहिर जानुपर्ने अवस्था रहेको भन्दै उपचारका लागि बुटवल बाहिर जानुनपर्ने गरी स्वास्थ्य संस्थाहरुलाई थप आधुनिकीकरण र प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा प्रजातन्त्रवादी चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा.अनिलबिक्रम कार्की,डा.मुक्तिराम श्रेष्ठ,लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा.इन्द्र ढकाल लगायतले मन्तब्य ब्यक्त गर्दै कोभिड–१९ जस्तो महामारीमा अग्रपंक्तीमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी प्रति राज्य र समाजले उचित सम्मान नदिएको गुनासो गरे ।
एकाध खराब पात्र र प्रबृत्तिका कारण समग्र चिकित्सकहरुनै बदनाम हुनेगरेको भन्दै उनिहरुले आफ्नो र आफ्नो परिवारको परवाह नगरी जनताको जिवन बचाउन रात दिन खट्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई समाजले उचित सम्मान नदिनुमा कतै चिकित्सककै कमिकमजोरी त छैन भनि समिक्षा गर्नुपर्ने आवस्यकता औल्याए ।






