काठमाडौं,१४ फागुन ।
मानवअधिकार एलाइन्सले युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई आग्रह गरेको छ ।

युक्रेनमाथीकाे आक्रमण लोकतन्त्र र मानवअधिकार विरुद्ध हुन जाने भन्दै एलाइन्सले रुसलाई आक्रमण रोक्न र संवादमार्फत् शान्तिपूर्ण समाधान खोज्न विश्व समुदायलाई आग्रह गरेको हो ।

मानवअधिकार एलाइन्सका अध्यक्ष मिनबहादुर शाहीले एक विज्ञप्ति जारी गरी रसियाका राष्ट्रपति पुटिनसमक्ष युक्रेनमाथिको आक्रमण रोक्न माग गर्दै संवादमार्फत विवादको शान्तिपूर्ण समाधान खोज्न विश्व समुदायलाई अपिल गरेका हुन् ।

कुनै पनि देशको सार्वभौमसत्तामाथि धावा बोलिनु लोकतन्त्र र मानवअधिकार विरुद्ध हुने भन्दै एलाइन्सले कुनै पनि सार्वभौम मलुकलाई छिन्नभिन्न बनाउन र देश नै नियन्त्रणमा लिन उद्दत रहनु संयुक्त राष्ट्रसंघको वडापत्र विपरीत हुनेतर्फ पनि सचेत गराएको छ ।

‘युद्धका नाममा निहत्था नागरिकले ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न र विश्वशान्ति कायम गर्ने तर्फ संवेदनशील हुन मानवअधिकार एलाइन्स आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।