बुटवल,११ फागुन । पत्रकार यमलाल भुसाल शाइन आर्थिक पत्रकारिता पुरस्कार –२०७८ बाट पुरस्कृत भएका छन्।
आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै उनलाई यस क्षेत्रकै सर्वाधिक राशिको शाइन आर्थिक पत्रकारीता पुरस्कारबाट पुरस्कृत गरेकाे हो ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक को १४औं स्थापना दिवसको अवसरमा आज आयोजित एक कार्यक्रमका बीच भुसाललाई नगद ५१ हजार राशी र सम्मानपत्रद्वारा पुरस्कृत तथा सम्मान गरिएको हो ।

बैंकका अध्यक्ष थानेश्वर पौडेल,सिइओ प्रकाश पौडेल,लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगाएतले संयुक्त रुपमा पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।

बैंकले पत्रकार महासंघ रुपन्देहीको समन्वयमा रु ५ लाखको अक्षयकोषको स्थापना गरी आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न सुरुवात गरेको हो । उक्त पुरस्कार पाउने भुसाल पहिलो पत्रकार हुन् । आगामी हरेक वर्षमा उक्त पुरस्कार एक पत्रकारलाई प्रदान गरिने पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलले जानकारी दिए ।

आर्थिक पुरस्कारबाट पुरस्कृत भुसाल विगत २८ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आएका छन् । विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका उनी हाल बुटवलबाट प्रसारित राज्य टेलिभिजनका सम्पादक हुन् ।