बुटवल,१० फागुन ।
राष्ट्रिय जनमुक्ति पार्टीका सचिब मोजिव अलीले अमेरिकी सहयोग परियोजना एमसीसी बिरुद्ध आवस्यक परे प्रतिकारमा उत्रिनुपर्नेमा जोड दिएका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा हुने दलले एमसीसी देशको विकासका लागि आवस्यक छ भन्ने भ्रम छर्ने काम गरेको भन्दै उनले अमेरीकी सहयोग लिएका कुनै पनि मुलुक विकसित नभएको दाबी गरे ।

राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीद्धारा मंगलबार बुटवलमा आयोजित एमसीसी बिरुद्धको खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले विकासको नाउँमा जुन देशमा अमेरीका पस्यो त्यहाँ विकासको सट्टा बिनास मात्रै भएको दाबी समेत गरे ।

महाकाली र गण्डक सम्झौता गर्दा पनि तत्कालीन सत्ताधारी दलहरुले मुलुकको समृद्धि हुन्छ भन्ने गरेको स्मरण गर्दै उनले ती सम्झौतापछि मुलुकको समृद्धि किन भएन भनि प्रश्न गरे ।

एमसीसी नेपालको हितमा नरहेको भन्दै सचिब अलीले त्यसलाई संसदबाट पारित हुन नदिन नेपाली जनता प्रतिकारमा उत्रिन समेत पछि पर्न नहुनेमा जोड दिए ।

कार्यक्रममा जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङले एमसीसी परियोजना पास गराउने कार्यमा सत्ताधारी र प्रमुख प्रतिपक्षी दलहरुबीच मिलेमतो रहेको दाबी गर्दै बाहिर राष्ट्रवादको कुरा गर्ने दललेनै भित्र भित्रै राष्ट्रघात गरेको दाबी गरे ।

बिगतमा भारतीय बिस्तारवाद र अमेरीकी साम्राज्यवादको बिरुद्ध नारा दिएर जनतामा भ्रम छर्न सफल भएका दलहरु एमसीसी जस्तो राष्ट्रघाती सम्झौताको बिषयमा मौन रहनु जनताप्रतिको बेइमानि भएको भन्दै उनले भारतीय बिस्तारवाद र अमेरीकी साम्राज्यवादको बिरुद्ध चर्का नारा लगाउने कम्युनिष्ट पार्टीहरु अहिले कता हराए भनि प्रश्न गरे ।

जनमुक्ति युवा संघका केन्द्रीय अध्यक्ष शंकर गाहाले नेपालको संबिधान र कानून भन्दामाथी हुने एमसीसी सम्झौता नेपाल र नेपाली जनताको हितमा नभएको भन्दै एमसीसी पारित हुन नदिन पार्टीले जस्तोसुकै कठोर आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए ।

पाँच बर्षमा सक्ने एमसीसी परियोजना सकिएपछि पनि एमसीसी नेपालमा एक सय बर्षसम्म रहने सम्झौतामा उल्लेख रहेको भन्दै उनले परियोजना सम्पन्न भएपछि पनि एमसीसी अनन्त कालसम्म नेपालमा के का लागि रहनु पर्यो भनि प्रश्न गरे ।

सत्ताधारी दलहरुले एमसीसीको बिषयमा दोहोरो चरित्र देखाएको भन्दै अध्यक्ष गाहाले एमसीको बिरोधमा अन्य दलहरु बिरोधमा उत्रिदा देशकै ठूलो दल नेकपा एमाले मौन बसेर सहयोग गरेको आरोप लगाए ।

जनतामा आफुलाई राष्ट्रवादीको रुपमा प्रचार गरेर चुनाव जितेका दलले समेत एमसीसीको बिषयमा मौन बसेर आफ्नो नक्कली राष्ट्रवाद उदाङ्गो पारेको बताए ।
उनले गगन थापा जस्तो युवा नेता जस्तो ब्यक्ति एमसीसीको पक्षमा उभिनु आश्चर्यको बिषय भएको टिप्पणी गरे ।

राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष प्रेम बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम जिल्ला सचिब दिलकुमारी गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसअघि बुटवलको राजमार्ग चौराहबाट सुरु भएको बिरोध जुलुस मिलनचौक,बसपार्क,अस्पताललाईन हुँदै ट्राफिक चोकमा पुगेर खबरदारी सभामा परिणत भएको थियो ।