तिलोत्तमा,१० फागुन ।
राष्ट्रिय जनमुक्ति पार्टीकी सचिब गिता सारुले एमसीसी परियोजना नेपाल र नेपाली जनताको हितमा नभएको भन्दै त्यसलाई कुनै पनि हालतमा संसदबाट पास गर्न नहुने बताएकी छन् ।
अमेरिकी सहयोग परियोजना एमसीसीको बिषयमा ठुला राजनीतिक दलहरुले जनतालाई भ्रममा पारेको भन्दै उनले एमसीसी सहयोग परियोजना हो भने संसदबाट किन पारित गर्नु पर्यो भनि प्रश्न गरिन् ।

नेपालको इतिहासमा हालसम्म कुनै पनि बिदेशी सहयोग परियोजना संसदबाट पारित नगरिएको भन्दै उनले एमसीसी सम्झौता संसदबाट पारित गर्न नहुने बताइन् ।

एमसीसीको बिरोधमा राष्ट्रिय जनमुक्ति पार्टी तिलोत्तमा नगर समितिद्धारा मंगलबार रुपन्देहीको मंगलापूरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले सत्ताधारी दल र प्रमुख प्रतिपक्षी दलले एमसीसीको बिषयमा जनतामा भ्रम छर्ने काम गरेको आरोप लगाइन् ।

अमेरिकाले एमसीसी लगानी भनिरहंदा पनि सरकार र प्रतिपक्ष दल एमालेले लगानी हो भन्दै जनतालाई झुक्काएको आरोप बताउदै उनले विकासको नाममा ५५ अर्वका लागि कांगे्रस र कम्युनिष्टहरुले नेपालीको शिर झुकाउने गरी एमसीसी संसदबाट पास गर्न थालेकोले जनमुत्ति पार्टी आन्दोलनमा उत्रिएको बताइन् ।

कार्यक्रममा जनमुक्ति युवा संघका केन्द्रीय उपाध्यक्ष रोशन अश्लामी मगरले ठुला दलहरुले अमेरिकी लगानी भित्राएर नेपाललाई अमेरिकाको उपेनिवेश बनाउन लागेको बताउदै एमसीसीको बिरोधमा आम नेपाली जनता आन्दोलनमा उत्रिनुपर्नेमा जोड दिए ।

जनमुक्त पार्टीका तिलोत्तमा नगर अध्यक्ष होम बहादुर बुढाको अध्यक्ष्तामा सम्पन्न कार्यक्रम पे्रम कनौजेको सञ्चालनमा सम्पन्न भएको थियो ।