बुटवल, ९ फागुन ।
लुम्बिनी प्रदेशका पर्यटन,ग्रामिण तथा शहरी विकास मन्त्रालयका सचिव महेश न्यौपानेले ‘सेभ द कल्चर, सेल द कल्चर’ लाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको बताएका छन् ।

होटल संघ पोखराद्धारा सोमबार बुटवलमा आयोजित ‘जाउ है पोखरा’ अभियान कार्यक्रममा बोल्दै सचिब न्यौपानेले उक्त कुरा बताएका हुन् ।

लुम्बिनी प्रदेशका पर्यटन,ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले सधै ‘सेभ द कल्चर, सेल द कल्चर’ भन्ने गरेको भन्दै उनले मन्त्रालयले सोही अनुसारको कार्ययोजना बनाएको बताए ।

नेपाल,बहुजाती र बहुसांस्कृतिक मुलुक भएको बताउदै सचिब न्यौपानेले नेपालले आफुसँग रहेका बिबिध संस्कृती बेचेरै आर्थिकोपार्जन गर्न सकिने भएकाले पहिले संस्कृतीको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

प्रदेशका १२ वटै जिल्लामा सास्कृतिक ग्राम निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको भन्दै उनले त्यसका लागि स्थानीय समुदाय पनि जागरुक हुनुपर्ने बताए ।

समुदायका मानिसहरुलाई अग्रसर गराएर यो कार्यक्रम कार्यान्वयनमा ल्याउने गरि कल्चरल भिलेज अवधारणा ल्याइएको बताउदै सचिब न्यौपानेले त्यसबाट प्रदेशको समृद्धिमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा होटल ब्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले पोखरा ब्यवसायीहरुबाट चलाईएको अभियान निक्कै उदाहरणीय भएको भन्दै देशका अन्य संघसंस्थाहरुले पनि त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने सुझाव दिए ।

कोभिडबाट धरासायी भएको पर्यटन क्षेत्र उकास्न सरकारले १ वर्षको पुर्नकर्जा घोषणा गरे पनि त्यो पर्याप्त नभएको भन्दै उनले त्यसको समयावधी बढाउनुपर्नेमा जोड दिए ।

ब्यवसायीहरुको पर्यटकप्रतिको ब्यवहार, सत्कारले पनि पर्यटक आकर्षित हुने भन्दै उनले आन्तरिक पर्यटक बढाउन सरकारले नीतिगत रुपमै ब्यवस्था गर्नुपर्ने धारणा राखे ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले २ दशकदेखि संघले नेचर, कल्चर र एडभन्चरका बारेमा जानकारी दिन अभियान चलाउदै आएकोे भन्दै अभियानले पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताए ।

आन्तरिक पर्यटक नै दिगो पर्यटक भएको भन्दै उनले ३ प्रतिशतमा झरेको पर्यटकको आगमन अहिले ५० प्रतिशत पुगेको बताए ।

संस्थागत रुपमा होटल संघले ३० प्रतिशतसम्म छुटका साथै थप अन्य छुटको ब्यवस्था गरिरहेको जानकारी गराउदै उनले पर्यटक आदानप्रदान गर्ने रुपमा पनि अभियान संचालन भएको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पोखरा पर्यटन विकासमा अन्य क्षेत्रलाई सिक्ने र सिकाउने रुपमा रहेको बताए। लुम्बिनी क्षेत्रलाई समेटेर अघि बढ्न सकेमात्र समग्र पर्यटन क्षेत्र पूरा हुने उनले बताए ।

कार्यक्रममा नाटा लुम्बिनीका अध्यक्ष सागर अधिकारी, पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार विप्लव पौडल,कार्यक्रम संयोजक विकल तुलाचन, भरतराज पराजुली, पोखराका उद्योगि हरि शर्मा गैरे,संघका महासचिव राजेन्द्र ढकाल लगायतले पोखरा, बुटवल र चितवनलाई एउटा गोल्डेन त्रिकोणका रुपमा विकास गर्नुपर्ने सुझाव दिए ।

बुटवलबाट शुरु भएको अभियान हेटौडा, विरगंज, चितवन लगायत शहरमा फागुन ८ गतेदेखि ११ गतेसम्म संचालन हुने कार्यक्रम संयोजक विकल तुलाचनले जानकारी दिए ।

बन्जी, प्याराग्लाईडिङ, हाईकिङ, साईक्लिङ, केबलकार लगायत साहसिक खेलहरुको कारण पनि पोखरा पर्यटकको आकर्षक बन्न सफल भएको उनले बताए । फेवा नववर्ष महोत्सवमा आमन्त्रण गर्ने रुपमा आफुहरु अभियान चलाएको उनले बताए ।