बुटवल,६ फागुन ।
वाढिले क्षति पुगेको रुपन्देहीको देवदह खानेपानी आयोजनाको मुहानको लुम्बिनी प्रदेशका पर्यटन,ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली वहादुर चौधरी सहितको टोलीले स्थलगत निरिक्षण गरेको छ ।

डेढ घण्टा पैदल हिडेर मन्त्री चौधरीसहितको टोली शुक्रबार झण्डै १० किलोमिटर उत्तरमा रहेको क्षतिग्रस्त मुहानसम्म पुगेको हो ।

वर्षातको समयमा खानेपानीको मुहानमा क्षति पुगेपछि उपभोक्तहरु पिउने पानीवाट वञ्चित हुनु पर्ने हो कि भन्ने चिन्तामा छन् । प्रदेश सरकारका मन्त्री चौधरी सहितको टोली सो स्थानमा पुगेर मुहान तत्काल मर्मतका लागि वजेटको प्रवन्ध गर्ने आश्वासन दिएपछि स्थानीयले राहत महसुस गरेका छन् ।

देवदह नगरपालिकाका मेयर हिरा वहादुर केसी, उपमेयर विद्यालक्ष्मी गुरुङ, उपभोक्ता समितिका पदाधिकारीहरु, राजनितिक दलका कार्यकर्ताहरुका साथै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख गुणनिधि पोख्रेल समेतको टोली निरिक्षणमा पुगेको थियो ।

सो अवसरमा विभागिय मन्त्री चौधरीले पहाडको फेदिमा रहेको मुलको पानी उपभोक्ताहरुलाई वितरण गर्न सक्नुनै महत्वपुर्ण रहेको भन्दै मुहान संरक्षण देखि खानेपानी प्रवन्धका लागि सरकार कटिवद्ध रहेको बताए ।

दिनप्रतिदिन पानीका मुहानहरु सुकिरहेको वेला पहाडको फेदिमा रहेको मुलको पानी पाउनु देवदह क्षेत्रका वासिन्दा शौभाग्यशाली भएको मन्त्री चौधरीले बताए । मन्त्री चौधरीले वाढिले समेत विगार्न नसक्ने गरि मुहान मर्मतको काम अघि बढाउन आफुले पहल गर्नेे प्रतिवद्धता ब्यक्त गरे ।

सो अवसरमा देवदहनगरपालिकाका मेयर हिरा केसीले खानेपानीका क्षेत्रमा देवदहकै सबैभन्दा ठुलो आयोजना देवदह खानेपानी रहेको भन्दै यसको मुहान संरक्षण तथा मर्मतका लागि प्रदेश सरकारले काम गरिदिन माग गरे । उनले पानी वितरण तथा व्यवस्थापनका लागि नगरपालिकाले सहजिकरण गर्दै आएको बताए ।

खानेपानी कार्यालयका प्रमुख गुणनिधि खनालले अहिलेको वजेटमा यो योजना नभएपनि वाढिले पानीको मुहान विगारेको विषयमा मन्त्री र मन्त्रालय संवेदनशिल भएर आफै स्थलगत निरिक्षणमा आएको भन्दै सबैको सहयोगमा मुहानको संरक्षणको काम गर्नुपर्ने आवस्यकता औल्याए ।