काठमाडौं,२७ माघ ।
मोरिससविरुद्ध अघिल्लो साता घरेलु मैदानमा दुई मैत्रीपूर्ण जितपछि नेपालले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालले दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा रहेको हो ।

यसअघिको वरीयतामा नेपाल १६९ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरीयतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । भारत पहिलो स्थानमा रहँदा माल्दिभ्स दोस्रो स्थानमा रहेको छ । विश्व वरीयतामा भारत १०४ औं र माल्दिभ्स १५७ औं स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । भुटान १८५ औं, बंगलादेश १८६ औं, पाकिस्तान १९७ औं र श्रीलंका २०४ औं स्थानमा रहेका छन् ।

विश्व वरीयतामा नम्बर एकमा बेल्जियम यथावत् रहेको छ । यस्तै ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, इटाली, स्पेन, पोर्चुगल, डेनमार्क र नेदरल्यान्ड क्रमशः दोस्रोबाट दशौं स्थानसम्म रहेका छन् ।