काठमाडौं, २२ माघ ।
श्री ५ को वायु गुठी समस्या समाधान सघंर्ष समिति धादिङ–गोरखाले गुठी समस्या तत्काल समाधानका गर्न माग गरेको छ ।

गुठी समस्या समाधान सघंर्ष समिति धादिङ–गोरखाले धादिङ र गोरखा जिल्लाका करिब तीन हजार ५ सय घरधुरीका स्थानीयहरुको गुठी सम्बन्धी समस्या तत्काल समाधानका गर्न सरकारसमक्ष माग गरेको हो ।

‘बा जग्गाधनी, छोरा मोही’, हाम्रो जग्गामाथिको अधिकार खोई’, ‘श्री ५ को वायु गुठीको नाममा भएको राज्य आंतक बन्द गर, सम्पतिमाथिको मौलिक हक कायम गर’ लगायतका नारा समितिले अघि सारेको छ ।
समितिले शनिबार राजधानी काठमाण्डौमा आयोजित अन्तरक्रियामार्फत समितिले सरकारले तत्काल मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर समस्या समाधान गर्न आग्रह गरेको हो ।
समस्या समाधान नभए आफूहरु सरकारलाई नागरिकता बुझाउनसमेत पछि नपर्ने समितिले चेतावती दिएको छ ।

कार्यक्रममा बोल्दै गुठी संघर्ष समितिका संयोजक ईश्वरीबहादुर लम्सालले सरकारको दमन गर्ने नीतिको विरुद्धमा आफुहरु निरन्तर लागिरहने बताए ।
‘जनताको स्वामित्वमा रहेको घर÷बारीलाई श्री ५ को वायु गुठी नापीबाट रैथानको पूर्जि दिएको छ । त्यस रैथानको पूर्जालाई पनि अन्धो सरकारले हचुवाको भरमा कुनै निकायमा नसोधेर मोही भनेको छ । यो कुरा हामीलाई मान्य हुनेछैन्,’ उनले भने ।
जग्गाधनी बाबुको छोरा कसरी मोही हुन्छ ? भन्ने प्रश्न गर्दै उनले आफुहरुले निरन्तर रुपमा नापी विभाग र भूमीसुधार मन्त्रालयमा ज्ञापनपत्र बुझाएर समस्या समाधान गर्न माग गरेपनि सम्बन्धित् निकायले बेवास्ता गरेको गुनासो गरे ।

‘३५ सय घरधुरी यसबाट विचल्ली भएका छौं । अब त हामी परिआए नेपाल सरकारलाई नागरिकता बुझाउन पछि पर्दैनौं । साविक धादिङ जिल्ला ज्यामरुङ गाविस हाल निलकण्ठ, साविक धादिङ जिल्ला कटुञ्जे गाविस हाल नेत्रावती डोबजोङ, साविक गोरखा थुमी गाविस हाल आरुघाट गाउँपालिकाको विभिन्न क्षेत्रमा भएको जग्गा पुस्तौदेखि भोगचलन गर्दै आएको र नापी हुँदाका बखतदेखि नै रैथान पुर्जा जग्गाधनी रहेको थियो । तर, अहिले राज्यले हचुवाको भरमा हामीलाई मोही बनाउन खोजिएको छ’ –उनले भने ।
आफुहरुले नयाँ जग्गा नमागेको स्पष्ट पार्दै उनले भने,‘२०७२ सालभन्दा पहिला हाम्रो जुन हैसियत थियो, त्यही रुपमा फर्काइदिनुहोस । कुनैपनि नीतिगत निर्णयबिना, कानुनी आधारबिना हामीलाई मोही बनाइएको छ ।’

कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रिनले समस्या समाधान लागि आफुले आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले जनताको सम्पति उसको स्वामित्व छ अथवा छैन् भन्ने कुरामा सरकारले ध्यान दिन जरुरी रहेको पनि धारणा राखे ।

त्यस्तै पूर्वमन्त्री तथा राप्रपाका युवा नेता पर्शुराम तामाङले आफू समितिले अघि सारेका मागप्रति गम्भीर रहेको बताउँदै समस्या समाधानको लागि सहयोग गर्ने बताए । उनले धादिङ् जिल्लाको राप्रपा पार्टीको तर्फबाट उक्त समस्याको समाधान गर्न आफुहरु नेतृत्व गर्न पनि तयार रहेको बताए ।

गुठी संस्थानका पूर्व अध्यक्ष लक्ष्मण ज्ञवालीले उक्त समस्या समाधानको लागि आफुले धेरै प्रयत्न गरेको स्मरण गर्दै गुठी ऐनलाई परिमार्जन नगरेसम्म अहिलेको समस्या समाधान नहुने धारणा राखे ।

निलकण्ठ–११ का वडा अध्यक्ष तिलक थापाले आफुहरु गुठी संस्था, नापी बिभाग र भुमिसुधार मन्त्रालय बारम्बार धाएपनि सबैबाट झुटो आश्वासनबाहेक केही पनि नपाएको गुनासो गरे । उनले समस्याको समाधान नभए आफुहरु स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने कठोर निर्णयसम्म पुग्नसक्ने चेतावनी दिए ।

समितिका सदस्य नबराज लम्सालले पञ्चायतकालमा समेत जग्गाका मालिक भएका जनता आज मोही हुनुपर्ने अवस्था आउनु दुःखद् रहेको बताउदै मन्त्रीपरिषदले समस्याको समाधान गर्नुपर्ने धारणा राखे ।

नेत्रावती डोबजोङ गाउँपालीकाका अध्यक्ष दुर्गानारायण शाक्यले गाउँपालिको तर्फबाट आफुले जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्दै पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाधानका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पत्रकार ऋषि धमलाले आफूहरुले समितिमार्फत अघि सारेका मागप्रति राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।