काठमाडौँ,५ मंसिर ।
साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि उचालेको छ ।
शनिबार भएको फाइनलमा लुम्बिनीलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक एनपीएलको उपाधि जितेको हो । लगातार तेस्रो सिजन फाइनल खेलेको सुदूरपश्चिमले उपाधि जितेसँगै लगातार तेस्रो सिजन फरक टिमले एनपीएलको उपाधि जितेका छन् ।
पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो सिजन लुम्बिनीसँग नै ६ विकेटको हार व्यहोरेको थियो ।
तेस्रो सिजनको उद्घाटन र लिग चरणमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले फाइनलमा उपाधि जित्दै त्यो हारको बदला समेत लिएको छ ।
सुदूरपश्चिमसँग पराजित भएपछि लुम्बिनीले भने लगातार दोस्रो पटक उपाधि जित्दै इतिहास बनाउने सुन्दर मौका गुमायो ।






