फाइल तस्बिर
काठमाण्डौ,२२ माघ ।
सरकारले एक, दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ ।
निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा चुनाव गर्ने प्रस्ताव गरेको पाँच दिन हुँदा पनि निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको भन्दै आलोचना भइरहेका बेला सरकारले एक, दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको हो ।
आवश्यक तयारी नपुगेकाले अस्ति बिहीवार मन्त्रिपरिषद्को बैठक बस्न नसकेको र अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सरकारले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठले अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको जानकारी दिए । तोकिएकै समयमा चुनाव गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।
मन्त्रिपरिषद्को नियमित बैठक सोमवार र बिहीवार बस्ने गर्छ । यसअघि आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा जेठ ४ गते चुनाव गर्ने समझदारी भएको थियो । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्न बाँकी रहँदा निर्वाचन आयोग भने चुनावको तयारीमा जुटेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको तर्फबाट गर्नुपर्ने तयारी भइरहेको जानकारी दिए ।
स्थानीय तहको चुनावलाई लक्षित गरी आयोगले मतदाता संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण, दातृ निकायसँग समन्वय गर्ने तथा अरु आवश्यक पूर्व तयारीका कामहरु निरन्तर गरिहेको प्रवक्ता पौडलले जानकारी दिए ।
चुनावको मिति घोषणा नहुँदासम्म मतदाता नामावली संकलनको काम भइरहने उनले बताए । २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा भएको स्थानीय तहको चुनावबाट निर्वाचित पदाधिकारीहरुको पदावधि आउँदो जेठ ५ गते सकिँदै छ ।






