बुटवल,१९ माघ ।
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालीका साझा पहिचान भएको बताएका छन् ।

तामाङ समुदायहरूको महान् पर्व सोनाम ल्होसारकाे अवसरमा
शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले नेपाली समाजमा विभिन्न जनसमुदायले मनाउने विभिन्न पर्वमध्ये विशेष गरी तामाङ समुदायहरूको महान् पर्व सोनाम ल्होसार पनि भएको भन्दै लुम्बिनी प्रदेश, स्वदेश तथा विदेशमा रहेका नेपाली सम्पूर्ण आमाबुबा,दिदीबहिनी तथा दाजुभाइहरूमा सुख शान्ति समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक विशेषताहरूले भरिएको सुन्दर देश भएको जनाउँदै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालीका साझा पहिचान भएको उल्लेख छ ।
नेपालका प्रत्येक धर्मावलम्बी,जातजाति र नेपाली भौगोलिक विविधतामा बसोबास गर्ने नागरिकहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरू रहेकाे उल्लेख गर्दै सन्देशमा चाडपर्वहरूले धार्मिक सहिष्णुता, मेलमिलाप र एकता स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएकाे जनाइएको छ ।
यस पर्वले पनि नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुर्याएको जनाउँदै सन्देशमा प्रदेशमा पनि विविध जाति, भाषा, संस्कृति र भेशभुषालाई एकीकृत गरी अगाडि बढेमा समृद्ध प्रदेश निर्माण गर्न सकिने उल्लेख गरिएको छ ।
यसै भावना र मर्मलाई नेपालको संविधान २०७२ ले पनि स्वीकार्दै विविध जाति, धर्म, संस्कृति र समुदायको संरक्षण सम्बर्धनका लागि अधिकार प्रदान गरेको कुरा सर्वविदितै छ भन्दै सन्देशमा विगतका राज्यव्यवस्थाले सिर्जना गरेको सबैखाले विभेद उत्पीडनलाई अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख व्यवस्था निर्माण गर्ने हाम्रो संविधानको संकल्प रहेको जनाइएको छ ।