काठमाडौ,१६ माघ ।
नेपालमा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र दुई हजार ८८३ एन्टीजेन परीक्षण गर्दा ४९१ जना गरी कुल तीन हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ३५९ जना कोरोना संक्रमित निको भएका छन् ।

कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ पुगेको हो ।

उनका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको छ ।

त्यस्तै माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

हाल देशभरमा ८३ हजार ९९९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

आइतबार थप भएका संक्रमित मध्ये १ हजार ७८८ जना काठमाडौं उपत्यकाका हुन् ।

जसमध्ये काठमाडौंमा १ हजार २३२, ललितपुरमा ३७९ र भक्तपुरमा १६७ जना रहेका छन् ।
आज कुन जिल्लामा कति जनामा संक्रमण पुष्टि ?
यस्तै पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यका बाहिर सबैभन्दा धेरै कास्कीमा १८६, मोरङमा ११७ , कैलालीमा ११०, झापामा ७४, बाँकेमा ५९, सुनसरीमा ५८ र कञ्चनपुरमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी नुवाकोटमा ४२, काभ्रेपलाञ्चोकमा ४०, धनुषामा २९, रुपन्देहीमा २७, स्याङ्जामा २६, सप्तरीमा २३ र तनहूँमा २० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।