काठमाण्डौ,१६ माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै कारवाहीको मागसहित जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाका अभिजित अधिकारीले संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्न माग गर्दै आइतबार उजुरी दिएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफु कोभिड संक्रमित हुँदाहुँदै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी भइ हुलहुज्जत गरी आफुलाई सामान्य संक्रमण मात्र भएको भाषण गरेको उजुरीकर्ताले उल्लेख गरेका छन् ।

‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार सम्प्रेषण भएका छन् । उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौ’, निवेदनमा उल्लेख छ ।

‘यसरी आफु कोरोना संक्रमित भई संक्रमण फैलाउने कार्य गरी संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आवस्यक कारवाही गरी पाउ’, निवेदकको माग दावी छ ।