काठमाडौं,१५ माघ ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने उनले बताए ।

बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले जानकारी दिए ।

यसैबीच सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीलाई लिएर आलोचना भएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई स्थानीय तह निर्वाचन नसार्न लिखित रुपमै आग्रह गरेको भन्दै त्यसको आलोचना भएको हो ।

बिहीबार करिव एक घण्टा भएको भेटमा राष्ट्रपति भण्डारीले लिखित रुपमै धारणा राखेको र त्यही पत्र प्रधानमन्त्रीलाई थमाएको बताइएको छ ।

स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने सरकारी तयारीलाई चिन्ताजनक भन्दै राष्ट्रपतिले समयमै निर्वाचन गराउने दायित्वबाट सरकार भाग्न नमिल्ने बताएकी थिइन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकमा राष्ट्रपतिको पत्रबारे छलफल भएको थियो । राष्ट्रपतिले प्रधानमन्त्रीलाई पत्र दिनु असंवैधानिक भएको नेताहरुले बताएका छन् ।

राष्ट्रपतिले राजनीति गर्न खोजेको भन्दै नेताहरुले राजनीतिक महत्वाकांक्षाका कारण उनले असंवैधानिक कदम चालेको धारणा राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।